पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राससले जनाएको छ ।
सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए । यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए । उनका अनुसार ‘प्रधानमन्त्रीसमक्ष वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरिएकोमा समस्या समाधान गर्ने आश्वासन पाइएको हो ।





