भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमार्फत् भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले बहुमत प्राप्त गरेपछि आइतबार उनले प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् । अघिल्ला दुईपटकजस्तो यो पटक भाजपासँग प्रष्ट बहुमत छैन । त्यसैले प्रधानमन्त्रीको रुपमा एकलौटी निर्णय गर्ने हैसियतमा मोदी छैनन् । त्यसैले यो कार्यकालमा मोदी बढी आक्रामक हुन पाउने छैनन् ।
सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्डले पनि भाग लिएका छन् । नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक भए पनि विवादरहीत छैन । खुला सीमाना रहेको भारतसँग सीमासहितका विभिन्न विवादहरु छन् । नेपाली भूभाग समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले पनि चुच्चे नक्सा सार्वजनिक गरिसकेको छ । यो विषय वार्ताबाटै समाधान गर्नुपर्नेमा दुबै देश सहमत छन् तर वार्ताको वातारण बन्न सकेको छैन । नेपालले आफ्नो नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति भारतले असन्तुष्टि जनाइसकेको छ । यो विषय निरुपण गर्नको लागि नेपालले कुटनीतिक दक्षता प्रदर्शन गर्नुपर्छ । भारतीय पक्षलाई विश्वासमा लिनुपर्छ । यसका अलावा, व्यापार,भारतले कार्यान्वयनमा ल्याएको अग्नपथ र अवरुद्ध नेपाली भर्ति प्रक्रियाको जेलिएको गाँठो पनि फुकाउनुपर्छ ।
भारतीय प्रधानमन्त्रीले सपथमा निम्त्याएर छिमेकीलाई प्राथमिकतासहित विश्वासमा लिन खोजेको देखिएको छ । यो सकारात्मक पक्ष हो । पहिलोपटक नेपाल भ्रमणमा आउँदा मोदीले नेपालको संसदमा गहकिलो भाषण गरेका थिए । नेपाल र भारतबीच मित्रताको नयाँ युग सुरु हुने पनि बताएका थिए । तर, व्यवहारमा भने त्यस्तो देखिएन । २०७२ सालमा संविधान जारी गर्दा भारतले असन्तुष्टिमात्र जनाएन, नाकाबन्दी नै लगायो । त्यसपछि पनि भारतीय व्यवहार त्यति सकारात्मक नदेखिएको टिप्पणी हुँदै आएको छ । तेस्रो कार्यकाल प्रधानमन्त्री भइरहँदा मोदीले छिमेकीहरुलाई चिढ्याउने हैन कि विश्वासमा लिएर अगाडि बढ्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ । वैश्विक शक्तिको रुपमा उदाएको भारतले आफूलाई ‘ठूल्दाई’ सम्झन छाड्नु्पर्छ र असल मित्रको रुपमा बदलिनुपर्छ । नेपालले भारतसँग गरेको अपेक्षा यही हो । भारतीय पक्षकै कारण दक्षिण एसियाली सहयोग संगठन ( सार्क) काम गर्नै नसक्ने अवस्थामा पुगेको छ । एक्लै हिँडेर र छिमेकीलाई हेपेर अगाडि बढ्दा आफैलाई बढी हानी हुन्छ भन्ने कुरा मोदीले बुझ्नेछन् र उनको तेस्रो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझ बलियो बन्नेछ भन्ने नै नेपाली पक्षको अपेक्षा हो । मोदी यो अपेक्षामा सफल हुन् ।
