जेठ १६ गते ५३ दिनपछि कुर्सीमा फर्किए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तनावमुक्त थिएनन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार अर्थात् ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका उनीसामु विश्वासको मत लिनुपर्ने चुनौती थियो । अर्कोतर्फ, नीति तथा कार्यक्रम अनि असार १ गते बाध्यकारी रुपले ल्याउनुपर्ने बजेटको तयारी गर्ने दायित्व पनि उनकै काँधमा थियो । यी दुबै कुरा मिलाउने उपक्रममा उनले जेठ २८ गते विश्वासको मत पाए । सरकारले जेठ २९ गते नै आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेश ग¥यो । यो नीति तथा कार्यक्रम हतारमा ल्याइएको हो । राष्ट्रसेवक कर्मचारीले तयार पारेको नीति तथा कार्यक्रमलाई केही थपघटबाहेक हतारमा के पो गर्न सकिन्थ्यो र ? नीति तथा कार्यक्रममा समेटिएका पुराना कार्यक्रमले त्यसको पुष्टि गरका छन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्य,कृषि र सामाजिक सुरक्षालाई विशेष जोड दिइएको छ । क्रमागत योजना सम्पन्न गर्ने तथा केही नयाँ पूर्वाधार निर्माणका विषयहरु पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
स्रोतको सीमिततालाई नीति तथा कार्यक्रमले मनन गरेको देखिन्छ । ठूला परियोजनाहरुको कुरा गरिए पनि त्यस्ता कार्यक्रम समावेश गर्न कठीन छ भन्ने त्यहाँ प्रयुक्त भाषाबाट प्रष्ट हुन्छ । नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धिको कुरा पनि उठान गरिएको छ । मुख्यमन्त्रीले भन्दै आएका गाँजाको वैधानिक खेती र घरेलु मदिराको ब्राण्डिङ यो नीति तथा कार्यक्रममा पनि परेको छ । सरकार भनेको निरन्तरताको पर्याय हो र अघिल्ला सरकारले ल्याएका कार्यक्रमहरुको अपनत्व लिनैपर्छ । क्रमागत योजनाहरु असरल्ल छाड्न पनि मिल्दैन । तर, नीति तथा कार्यक्रम ल्याउँदा सामथ्र्यको ख्याल गरिनुपर्छ । गण्डकीले संघ सरकारबाट सबैभन्दा कम रकम प्राप्त गर्छ । गण्डकी स्वयंले पनि राजश्व वृद्धिको लागि उल्लेखनीय काम गर्न सकेको छैन । सवारी लाइसेन्स वितरण प्रभावकारी बनाएर राजश्व बृद्धि त भएको छ तर त्यसका साथै खर्च पनि बढिरहेको छ । उत्पादकत्व बढाउने, आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान कम भएको हो कि भन्ने देखिएको छ । प्रशासनिक खर्च बढेर गएको छ । अहिले ल्याइएका नीति तथा कार्यक्रमले बजेटको आकार बढाउँछ । क्रमागत योजना सक्न त्यति नै रकम चाहिन्छ । यस्तो अवस्थामा राज्यकोष नबढाइ अगाडि सारिएका कार्यक्रम कार्यान्वनय हुन्छन् नै भन्नेमा भने शंका गर्न सकिन्छ । तर, जनतालाई सेवा र सुविधा दिन्छु भन्ने घोषणालाई अन्यथा मानिहाल्नु चाहिँ हुँदैन ।
