गण्डकी सरकार स्थापना भएको सात वर्ष पुगेको छ । २०७२ सालको संविधानले परिकल्पना गरेको तथा २०७४ सालको आम चुनावपछि फागुन ४ गते पहिलो सरकार स्थापना भएयता अर्को आवधिक निर्वाचन सम्पन्न भइसकेको छ । यो बीचमा ८ वटा सरकार गठन भइसकेका छन् । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा करिब संघीय सरकारबाट प्राप्त १ अर्ब २ करोडको बजेटबाट कामको थालनी गरेका थिए । यही उपक्रममा सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारले विभिन्न शीर्षकमा आउने बजेट कम विनियोजन गरिदिँदा, आफैले बनाएका क्रमागत योजनाको भुक्तानी भार थपिँदा तथा प्रदेशको सामथ्र्य नबढ्दा बजेटको आकार बढ्नुको सट्टा घटेको हो ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङबाट प्रस्तुत बजेटमा खोट लगाउनुपर्ने ठाउँ छैन । आन्तरिक राजश्व नबढेको तथा संघीय सरकारबाट कम अनुदान आएको उनले स्वीकारेकै छन् । क्रमागत योजना सम्पन्न गर्नुपर्ने दायित्व पनि उनले भुलेका छैनन् । तर, दुःखका साथ भन्नुपर्छ, प्रदेशको बजेटले केही नयाँ नारा तय गरे पनि रणनीतिक महत्वका कार्यक्रम ल्याउन सकेको छैन । लोक रिझाउने खालका साना योजना, अनुदानमा आधारित कार्यक्रममार्फत् नै प्रदेश सरकारले आफ्नो अस्तित्व रक्षा अनि उपस्थिति दर्शाउन खोजेको छ । यस्तो तालले प्रदेश आफै बलिलो बन्न सक्दैन । सधैँ अनुदानमा आश्रित हुने हो भने सामथ्र्य भएका पालिकाहरुले पनि टेर्दैनन् भन्ने कुरा प्रदेशले मनन गर्नैपर्छ । आन्तरिक राजश्व बढाउन भौतिक निर्माण,कृषिको व्यावसायिकीकरण, औद्योगिक उत्पादनमा बढावा, पर्यटन उद्योगको उत्थान, प्राकृतिक स्रोत र जनशक्तिको सही उपयोग गरिनुपर्छ । यसका अलावा बाह्य लगानी आकर्षिक गर्नु पनि उत्तिकै जरुरी रहेको छ । यी काम गर्नको लागि योजना बनाइनुपर्छ, लक्ष्य निर्धारण गर्नुपर्छ र उललब्धिको सुनिश्चितता हुने क्षेत्रमा लगानी गरिनुपर्छ । हो, सामाजिक सुरक्षा दिनु पनि प्रदेशको कर्तव्य हो तर त्यसभन्दा बढी रोजगारी सिर्जनालाई ध्यान दिनुपर्छ । पहिलो पञ्चवर्षीय योजना सकिएर दोस्रो योजना बनाउँदासम्म पनि किन सामथ्र्य बढेन भन्ने विषयलाई केन्द्रमा राख्ने हो भने समृद्धि सम्भव हुन्छ । संघ सरकारले दिएन भनेर रोइकराइ गर्ने हैन, आफ्नै बलबुतामा उभिनेखालका योजना बुन्नु नै पर्छ ।
