गण्डकी सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षालाई प्राथमिकताको सूचीमा राखेको छ ।
प्रदेश मातहतमा अस्पताल तथा बर्थिङ सेण्टरमा तालिम प्राप्त मिडवाइफबाट सेवा प्रवाह गर्न धौलागिरि अस्पतालमा तालिम संचालन गर्ने घोषणा गरिएको छ । मुस्ताङ अस्पताललाई २५ बेडको बनाइने र अन्य जिल्लाका अस्पताललाई पनि स्तरोन्नति गरिने र गण्डकीलाई पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने प्रदेश सरकारको घोषणा छ । आमा र शिशुको जीवनरक्षाबारे सरकारले केही वर्षयता गर्दै आइरहेका कृत्यहरु प्रशंसनीय छन् । सुत्केरीको एयरलिफ्टिङलाई प्रदेशले निरन्तरता दिएको छ भने पालिकाहरुले पनि सुत्केरीलाई प्रोत्साहन गर्न आफ्नै तवरले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा– स्वास्थ्य संस्थामै सुत्केरी गर।उनको लागि गरिएका प्रयत्नहरुले सकारात्मक परिणाम दिएका छन् ।
पछिल्लो समय पालिकाहरुले आफूमातहतका स्वास्थ्य संस्थाहरुमा जनशक्ति र आधुनिक जनशक्ति व्यवस्थापन उल्लेख्य ध्यान दिएको पाइएको छ । नजिकको सरकारको प्रयत्नपछि स्वास्थ्यकेन्द्रहरुले काँचुली फेरेका छन् । विशेषज्ञतासहितको दक्ष जनशक्ति ती स्वास्थ्यकेन्द्रमै बस्न थालेका छन् । दूरदराजमा बस्ने नागरिकले गाउँमै उपचार पाउँदा उनीहरुको जीवनरक्षामात्र भएको छैन, समय र पैसाको पनि बचत भएको छ । बागलुङको जैमिनी नगरपालिका ४, सर्कुवामा रहेको स्वास्थ्यचौकी यसको उदाहरणको रुपमा प्रस्तुत भएको छ । अहिले सर्कुवा स्वास्थ्यचौकीसँग फराकिला कोठा, जनशक्तिमात्र छैन, बर्थिङ सेन्टर, बेबी वार्मर र बिरामी राख्ने बेड र उपचारका उपकरणहरु पनि रहेका छन् । स्वास्थ्यचौकीबाट सामान्य रोगको उपचारमात्र हुँदैन, ठूलै रोगको निदानको लागि पनि प्रयत्न भएको छ । पालिकाकै पहलमा यो कार्य सम्भव भएको हो । सर्कुवाजस्ता स्वास्थ्यचौकीले गरेका असल अभ्यासलाई अन्य पालिकाले पनि अनुशरण गर्नुपर्छ । गाउँमा विशेषज्ञ डाक्टरको भने सधैँ अभाव हुँदै आएको छ । विशेषज्ञ डाक्टरलाई गाउँ जाने वातावरण बनाउने काम संघीय सरकारको हो । संघीय सरकारले कसिलो कानून, आकर्षक सुविधा र उचित वातावरण निर्माण गर्दै गाउँगाउँमा डाक्टर पु¥याउने काम गर्नैपर्छ ।
