विकासको नाममा भएका प्राकृतिक दोहनहरुले प्राकृतिक विपत्ति निम्त्याएकोमा कुनै विवाद छैन । पोखरामा बुधबार देखिएको डुवान नै यसको प्रमाण हो । प्रकृतिको नियम अर्थात् पानी तलतिर बग्छ र उसले आफ्नो बाटो आफै खोज्न भन्ने सिद्धान्तलाई नजरअन्दाज गर्दै जथाभावी रुपले निर्मित भौतिक संरचनाहरु डुवानको कारक हो भन्नेमा पनि द्विविधा रहेन ।
पछिल्लो समय भएको सहरीकरणले बाटो, कुलो, खोलो, चौतारी र समग्रमा पानीढलोलाई नजरअन्दाज गरेको छ । मिचिएको÷मासिएको छ । जसरी पनि सहरमा एउटा छाप्रो बनाउनुपर्छ भन्ने मान्यता पाल्ने नागरिकहरुले सम्भावित जोखिमको आंकलन बिनै घरहरु बनाएका छन् । बाटोको नाममा पानीको बहाव रोकिएको छ । धाप र कुलोको पानी खस्ने ठाउँ पनि छाडिएको छैन । जसले गर्दा सानो वर्षामा पनि बस्ती नै डुवानमा पर्ने गरेको छ ।
अर्कोतर्फ, जनप्रतिनिधिहरु अहिले धमाधम गाउँगाउँमा बाटो बनाउने अभियानमा छन् । बाटो के बनाउनु काल भित्र्याउने ट्रयाक खोल्दैछन् । डोजर अघि लगाएर गाउँ छिर्ने जनप्रतिनिधिहरुले भौगोलिक अवस्था, सम्भावित वातावरणीय क्षतिलगायतका विषय हेर्ने कुरै भएन । आफूलाई मन लागेको ठाउँबाट ट्रयाक खोल्नुलाई सफलतासँग जोड्दैमा उनीहरुलाई फुर्सद छैन । जथाभावी खोलिएका बाटाहरु विनासका कारण बन्छन् भन्ने हेक्का नराख्दा त्यसले देशैभर विपत्ति निम्तिएको छ तर बाटो खोल्ने उपक्रम रोकिएको छैन ।
योजनाहरुहरुको वातावरणीय मूल्याङ्कन हुनुपर्छ । वातावरण प्रभाव मूल्याङ्कन ईआईए को विपरित निर्माण गरिए वा ईआईएको प्रतिवेदन स्वीकृत नहुँदैमा कुनै पूर्वाधार निर्माण भए ५० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । विकासको नाममा जथाभावी काम हुन थालेपछि यो नियम अघि सारिएको हो । वातावरण संरक्षण ऐन २०५३ मा भएका प्रावधानहरुभन्दा अझ कडा प्रावधानहरु राखी नयाँ ऐन बनाएको हो । यसैगरी भू–उपयोग ऐन–२०६६ ले पनि वातावरणीय पक्षलाई महत्व दिएकै छ । तर, विद्यमान कानूनहरु जे–जस्ता भए पनि वातावरणीय मूल्याङ्कन बिनै ठूला निर्माण कार्य हुँदै आएको धरातलीय यथार्थ हो । दीगो विकासको नारा दिने तर विकासले नै विनास निम्त्याउँछ भन्ने चेत नहुने अहिलेको विकासे यात्राले अझ ठूला दुर्घटना निम्त्याउने निश्चित छ । नेपालका नीति निर्माता र विकास अभियन्ताहरुले दूरदृष्टि लगाउँदैनन् । उनीहरु क्षणिक लाभमा रमाउँछन् । प्रकृतिको चक्रलाई चलाउँदा उत्पन्न हुने जोखिमबारे बेखबर रहन्छन् । यसले गर्दा न विकासे परियोजनाहरु टिकाउ हुन्छन् न जनताले सुख पाउँछन् । नेपाल यतिबेला १५ औं पञ्चवर्षीय योजना चलाउँछ । विकास भनेको दीगो हुनुपर्छ । दीगो विकासको लागि पर्यावरणीय संरचनाहरु बिगार्नु हुँदैन । पर्यावरण बिग्रिएपछि पुरानो अवस्थामा ल्याउन गाह्रो पर्छ । विकास भनेको मान्छेको लागि हो । मान्छेलाई नै हानी पु¥याउने, प्राकृतिक चक्र बिगार्ने विकासे मोडल अविलम्ब परिवर्तन गर्नैपर्छ ।
