असारे झरी पर्नासाथ गण्डकी प्रदेशअन्तर्गत पर्ने मुख्य राजमार्गसहित सवैजसो सडकहरु अवरुद्ध बन्न पुगे । यात्रुहरुले दुःख पाए । घण्टौंसम्म सवारी साधन बाटोमै रोकिए । राजमार्ग त जसोतसो खुलेको छ तर सहायक सडकहरुको अवरोध हटेको छैन । पोखरा महानगरकै केही वडामा गाडी चढेर जान सकस भएको छ । मनाङ झण्डै सडक सञ्जालबाट विच्छेदको अवस्थामा छ । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिने सिद्धार्थ र पृथ्वी राजमार्गमा पहिरो खस्नासाथ पोखरामा तरकारीदेखि अन्य दैनिक उपभोग्य बस्तुको आपूर्ति श्रृंखला पनि खल्बलियो । एकाएक मूल्य बढ्यो । ग्रामीण सडकहरु अवरुद्ध हुँदा त्यहाँको दैनिकी कष्टकरमात्र बनेको छैन, नागरिकको दैनिक कार्यसूची नै बदलिएको छ । तरकारी, दूध बजार पठाउन सकिएको छैन । उत्पादन बिक्री नहुँदाको पीडा शब्दमा व्यक्त गर्ने अवस्था छैन । कोही दुःख–बिमारमा परे भने त झन ठूलो समस्या छ ।
राजमार्ग र सडकलाई सुरक्षित र सूचारु बनाउनेबारे सरोकारवाला निकायहरुबाट भएका प्रयत्नहरु प्रभावकारी नबन्दा हरेक वर्ष यो रोग दोहोरिने गरेको हो । सडक र राजमार्गहरु सुरक्षित अनि बाह्रै महिना चल्नेखालको हुनुपर्छ । तर, दुर्भाग्यका साथ भन्नुपर्छ– हाम्रा सडक र राजमार्गहरु त्यस्ता छैनन् । कतै हामी डिजाइनमै चुक भएको छ भने कतै मर्मत–सम्हारको अभाव खट्किएको छ । ग्रामीण सडकको त के कुरा गर्नु ? डोजर अगाडि लगाएर पहाड खोस्रिँदा त्यसले सुविधाभन्दा बढी विपत्ति निम्त्याएको छ । हिउँदमै पनि सुरक्षित नभएका ती सडकहरु नागरिकको लागि अभिषाप सिद्ध भएका छन् । यो अवस्थाको अन्त्य हुनैपर्छ ।
हिउँदभर सुत्ने र बर्खामा काम थाल्ने प्रवृत्तिका कारण पनि यी घटनाहरु दोहोरिएका हुन् भन्नेमा पनि द्विविधा छैन । प्रतिकार्यको तयारीबारे त भन्नै परेन । जबसम्म सडकलाई सुरक्षित बनाउने भरपर्दो उपायको खोजि गरिँदैन, तबसम्म सडकहरु ज्यानमारा नै रहन्छन् । अतः सरोकारवाला निकायहरुको ध्यान सडकलाई बाह्रै महिना संचालन हुने तथा सुरक्षित बनाउने पहल गर्नुपर्छ । ग्रामीण सडकको जिम्मेवारी पालिकाहरुलाई र राजमार्गको जिम्मा कसले लिने भन्नेबारे प्रष्ट किटानी हुनैपर्छ । एउटा निकायले अर्कोलाई देखाउने र जिम्मेवारीबाट उम्कने प्रवृत्ति अन्त्य हुनुपर्छ । सडकलाई सुरक्षित बनाउन वृक्षरोपण,तारजाली लगाउने, पहिरो नियन्त्रणका लागि आधुनिक उपाय अवलम्बन गर्ने, असजिलो ठाउँमा वैकल्पिक व्यवस्था गर्ने र केही भइहाले तत्काल मर्मत र उद्धारको लागि उपकरणसहितको जनशक्ति तम्तयार राखिनुपर्छ । सवारी दुर्घटना घटाउनेतिर पनि उत्तिकै ध्यान पु¥याउनुपर्छ ।
