बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका निम्ति दबाव जरुरी

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका निम्ति दबाव जरुरी


  • Dhorpatan News
  • असार २७ २०८१, बुधबार

पोखरेलीको लामो पर्खाइ र संघर्षको जगमा बनेको हो– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । २०३१ सालमा जग्गा अधिग्रहण भएर २०७९ साल पुस १७ गते उद्घाटन गरिएको विमानस्थलसँग पोखरा र समग्र गण्डकीवासीको समृद्धिको चाहना पनि जोडिएको छ । तर, दुर्भाग्य ! उद्घाटन भएको डेढ वर्षसम्म पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चार्टर्ड उडानलाई छाड्ने हो भने, यो विमानस्थल घरेलुको दर्जामा सीमित भएको छ ।
मित्रराष्ट्र चीन सरकारको सदासयतामा निर्मित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित हुँदै गर्दा निर्माणसँग जोडिएका भ्रष्टाचार प्रकरण, भू–राजनीतिक चलखेल र यसको प्राविधिक पक्षबारे अनेकथरि टिप्पणी हुन थालेका छन् । महालेखापरीक्षकको कार्यालयले निर्माणमा आर्थिक घोटाला भएको किटान गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । अपारदर्शी तरिकाले भएको सम्झौता तथा निर्माणको क्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने आवाज चर्को हुन थालेको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गर्दै यो प्रकरणको छानबिन थालेको छ ।
सम्झौता र निर्माणको क्रममा भ्रष्टाचार भएको छ भने दोषीमाथि कारवाही गरिनुपर्छ । शूक्ष्म छानविन हुनैपर्छ । तर, छानविन चलिरहेको निहूँमा अन्तर्राष्ट्रिय उडान नै अनिश्चिततातर्फ धकेल्ने काम चाहिँ कतैबाट हुनुहुँदैन । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्मित यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेन भने त्यसले देशलाई आर्थिक नोक्सानीमात्र गर्दैन,हाम्रो क्षमतामाथि पनि प्रश्न उठ्छ । त्यतिमात्र नभएर विमानस्थल संचालन नहुँदा छिमेकसँगको सम्बन्धमा पनि प्रश्न उठ्छ । यी गम्भीर विषयबारे राज्य गम्भीर हुनुपर्छ । पोखरा विमानस्थल संचालनप्रति नेपाल हवाइ उड्डयन प्राधिकरण सकारात्मक नभएको पोखरेलीको आशंका रहँदै आएको छ । भारतले हवाइ रुट दिएन वा पोखरा एयरपोर्टले राम्रो व्यापार दिन सक्दैन भन्ने बहानामा उडानको पहल नै नगर्नाले पनि यो आशंकालाई बल पुगेको छ । प्राधिकरणले किन निर्माणको बेलामा नै विमानस्थलको बस्तुस्थितिबारे जानकारी गराएन ? किन हतारमा चिनियाँ निर्माण कम्पनीबाट विमानस्थल बुझ्यो ? किन निर्माणकै बेला यसको संचालनको लागि हवाइ कम्पनीहरुसँग कुरा गरेन ? यस्ता प्रश्नहरुको प्राधिकरणका उच्च पदस्थ व्यक्तिले जवाफ दिनैपर्छ । हवाइ कम्पनीहरुलाई आकर्षित गर्न छुट तथा आकर्षक प्याकेजका योजना निर्माण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत् पोखराबाट अन्तर्राष्ट्रिय उडान थालनी गरी प्राधिकरणले आफूलाई प्रमाणित गर्न सक्छ । तर, प्राधिकरण नेतृत्वको उदासिनताले त्यो सम्भावना दूर गरेको छ । यस्तो अवस्थामा पोखरेलीले पुनः दवाबमूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता खट्किएको छ । विमानस्थल बरदान नभइ ऋणको पाँसो भएको डरलाग्दो भविष्यवाणीलाई असत्य सावित गर्नुपर्छ । गैरजिम्मेवार प्राधिकरण नेतृत्वलाई जवाफदेही बनाइनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->