बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लगानीकर्ताको मनोवल बढाऊ

लगानीकर्ताको मनोवल बढाऊ


  • Dhorpatan News
  • साउन २ २०८१, बुधबार

आर्थिक वर्ष २०८०/०८१ मा अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिए । विप्रेषणले धानेको अर्थतन्त्रमा विदेशी रकम संचिति बढ्यो । सोधानान्तर घाटा त नेपाली अर्थतन्त्रको रोग नै हो । त्यसको निरुपणका निम्ति राज्यले उल्लेख्य केही गरेन । उत्पादकत्व र रोजगारी वृद्धिमा पनि केही उपलब्धि भएन । सरकारले यो वर्ष तामझामका साथ लगानी सम्मेलन चाहिँ ग¥यो । लगान िसम्मेलनमा ठूला लगानीकर्ताहरु आएनन् । सहमति हुने भनिएका ४ वटा परियोजनामा अन्तिम समयमा सहमति जुटेन । धेरैजसो आयोजनाप्रति लगानीकर्ताले चासो नै दिएनन् । जसोतसो १७ खर्बको लगानी प्रतिबद्धता आएको भनियो । तर, वास्तविक प्रतिवद्धता भने ७० अर्ब हाराहारीकोमात्र रहन पुगेको उद्योग विभागले जनाएको छ । लगानी बढेको भए अर्थतन्त्रले गति लिन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो, उत्पादकत्व बढ्थ्यो । यसरी हेर्दा लगानी सम्मेलन औपचारिकतामा सीमित बन्यो ।
अर्थमन्त्री वर्षमान पुनले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटले पनि आम नागरिक र निजी क्षेत्रलाई उत्साहित तुल्याउन सकेन । चालु खर्चमा भएको बढोत्तरी, ऋणको साँवा र ब्याजको लागि छुट्याइएको ठूलो हिस्सा तथा पूँजीगत खर्चमा आएको संकुचनका कारण यो बजेटले पनि अर्थतन्त्र चलायमान बनाउँदैन भन्ने पुष्टि भइसकेको छ । राज्यलाई स्रोतको दवाब छ नै । देशमा मौलाएको अनौपचारिक अर्थतन्त्रको कारण राजश्व संकलनमा गिरावट आइरहेको सत्य हो तर बढ्दो बेरुजूलाई नियन्त्रण गर्न नसक्नु तथा छुट्याइएको पूँजीगत बजेट पनि खर्च नहुनेले निराशाबाहेक केही दिएको छैन । नयाँ आर्थिक वर्ष सुरु भएको छ । नयाँ सरकार र अर्थमन्त्री आएका छन् । अर्थमन्त्रीमा नयाँ नियुक्तिसँगै शेयर बजारमा केही उछाल देखिएको छ । तर, त्यो दीर्घकालीन हुन्छ र लगानीकर्तामा उत्साह कायमै रहन्छ भन्ने ग्यारेण्टी छैन । सहकारी घोटाला, युवाहरुको विदेश पलायन, उपभोग संस्कृतिमा भइरहेको ह्रास तथा लगानीकर्ताहरुमा व्याप्त निराशाका कारण अर्थतन्त्र खुम्चिएको छ । खुम्चिएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकिएन भने उत्पादकत्व र रोजगारी बढ्दैन । अतः नयाँ सरकारले बजार चलायमान बनाउनेतर्फ विशेष ध्यान दिनुपर्छ । निजी क्षेत्र र खासगरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गर्नुपर्छ । अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्दै बजेट कार्यान्वयनमा जुट्नुपर्छ । आर्थिक वर्ष सुरु भएसँगै पूँजीगत खर्च छिटो गराउने परिपाटीको विकास गर्नेतर्फ ध्यान केन्द्रीत गरिनुपर्छ । स्वदेशी हुन् वा विदेशी लगानीकर्ताको मनोवल बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->