बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नयाँ गठबन्धनप्रतिको आशंका : कामबाटै जवाफ देऊ

नयाँ गठबन्धनप्रतिको आशंका : कामबाटै जवाफ देऊ


  • Dhorpatan News
  • साउन ६ २०८१, आइतबार

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुख्ख छैन– यिनले बिर्से कि आमा भनी ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत गौरी खण्डकाब्यका यी हरफहरुले टुहुरा छोराछोरी सम्हालेर बसेका पिताको मनोभाव बोल्छन् । गौरीका यी हरफहरुलाई अलिकतिमात्र बिगारेर नेपाली राजनीतिको पछिल्लो परिदृष्यमा मिसाउँदा भने बेछन्दमा यस्तो हुन्छ –

यी लडे पनि दुःख लाग्छ– यिनले देशै डुवाउँछन् कि भनी
यी मिले पनि सुख्ख छैन– यिनले मिलेर खान्छन् कि भनी ।

नेपाली राजनीतिमा यतिबेला दुई ठूला दल मिलेका छन् । नेपाली कांग्रेस र एमालेबीचको यो मिलन देशमा स्थायित्व र जनआकांक्षा पूरा गर्न भनिएको छ । तर,जनता ढुक्क छैनन् । हिजो के कारणले बेमेल भयो र अहिले कसरी मिलन भयो भन्ने प्रश्नको उत्तर आएको छैन । कतै यी दुई ठूला दलको मिलन भ्रष्टाचारलाई संस्थागत गर्न, पुराना फाइलहरु लुकाउन त हैन भन्ने आशंका आमजनतामा व्याप्त छ । यी दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नभइञ्जेल यो आशंका कायमै रहन्छ । भएका सहमति सार्वजनिक गर्दै सुशासन र सेवा प्रवाहमार्फत् यी प्रश्नको उत्तर दिनुपर्ने दायित्व भने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि नै छ ।
दुई ठूला दलको सहकार्य सही उद्देश्यको लागि हो भने त्यसमा आपत्ति जनाउनुपर्ने कारण छैन । देश साँच्चिकै बिग्रिएको छ । यो देश बस्नलायको हैन भन्ने भाष्य यति बलियो भएको छ कि, राम्रै हैसियत बनाएकाहरु पनि विदेशिनको लागि खुट्टा उचालेका छन् । युवाहरु राज्यसत्ता र नेतालाई सराप्दै दैनिक आफ्नो हैसियत अनुसारको देशको बाटो लागेका छन् । भएका जो छन्, उनीहरु सामथ्र्यहीन, कान्तिहीन र दीनहीन देखिएका छन् । यही राज्यसत्ता र नेताबाट तरक्की होला भन्ने आशा नभए पनि उनीहरुले थोरै भए पनि सुधार चाहेका छन् । केपी ओली नेतृत्वको सरकारले यिनै दीनहीनहरुको आवाज संवोधन गर्नुपर्छ । साँच्चिकै राष्ट्र निर्माणको लागि राज्यको सम्पूर्ण शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ । केन्द्रको बाछिटाले हल्लिने प्रदेश सरकारदेखि पालिकासम्मका जनप्रतिनिधि परिचालित गरी जनताका आवश्यकता पूर्ति र सुशासनको लागि परिणामुखी काम गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । कांग्रेस– एमालेको नयाँ सहयात्राले प्रदेशसम्मै बलियो सरकार बन्ने अवस्था सिर्जना भएको छ । यो अवसरलाई कुनै पनि हालतमा खेर फाल्नु हुँदैन । भागबण्डा मिल्नासाथ घाँटी जोड्ने र थोरै असहमति हुनासाथ तोड्ने बानी छाडेर स्थायित्वको ग्यारेण्टी गर्दै समृद्धिको यात्रा तय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->