२८ असारमा नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत सिमलतालमा लेदोसहितको पहिरोमा बगेर त्रिशूली नदीमा बेपत्ता दुई बस भेटिएका छैनन् । बससँगै हराएका यात्रु नभेटिँदा शोकमा रहेको देश फेरी अर्को शोकमा डुबेको छ । बुधबार बिहान ११ बजे विभिन्न सञ्चार माध्याममा सौर्य एयरको विमान दुर्घटनाको समाचार आयो । अनलाइन सञ्चार माध्यममा आएका समाचार पूर्ण थिएनन् । दुर्घटना भयो मात्रै भनियो । हताहतीको विषयमा कुनैपनि सञ्चार माध्यामले उल्लेख गरेका थिएनन् । उद्धारको काम चलिरहँदा प्रारम्भिक सूचनाको आधारमा नागरिकले कल्पना गरिसकेका थिए– जहज दुर्घटनाले दुःखद सन्देश दिन्छ । नभन्दै जहाजका चालक मनिष शाक्यबाहेक कोही बाँचेनन् । दुर्घटनाले देशको उम्दा जनशक्ति १८ जनाको ज्यान लियो । नेपालको हवाई उड्ययन इतिहासमा २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । त्यसयता नेपालमा हालसम्म १ सय ५ हवाई दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु भएको तथ्यांक छ ।
त्रिशुलीमा भएको बस दुर्घटना र विमानस्थलमा भएको जहाज दुर्घटनाको विषयमा नागरिकको तहबाट विभिन्न दृष्टिकोणहरु आईरहेका छन् । जहाज जमिनमा बजारिँदा लागेको आगो ४० मिनेटमा नियन्त्रणमा आयो । तर, २०१२ देखि सुरु भएको जहाज दुर्घटनाको आगो भने अझै फैलिरहेको छ । बुधबार भएको दुर्घटनाबारे छानविन होला । मृत्यु भएका यात्रुको पोष्टमार्टम र अन्त्यष्टि होला । घाईते पाइलट निको भएर फर्किने छन् । नेपालमा भएका हरेक दुर्घटनामा जहाजसँगै यात्रु र चालकको मृत्यु हुँदा घटनाको सत्यता पत्ता लाग्न जहाजमा हुने व्ल्याक बक्सको सहयता लिनुपर्ने थियो । अहिले त्यो अवस्था छैन् । किनभने चालक दलका क्याप्टेन बाँचेका छन् । उनले दुर्घटनाको विषयमा बताउने छन् ।
एउटा घटनाको घाउ निको नहुँदै अर्को घटना नेपालका लागि नियति बनिरहेको छ । जहज दुर्घटनाका अधिकांश छानविन प्रतिवेदनले मानविय त्रुटी देखाउने गरेका छन् । तर, यो पटक त्यसको इन्कार गर्नसक्ने क्याप्टेन जीवित छन् । दुर्घटना बाजा बजाएर आउँदैन् तर कतिपय दुर्घटना पूर्व साबधानीका कारणले टार्न सकिन्छ । नेपालमा सडकमा हुने दुर्घटनाका प्रसस्तै कारण छन् । तर, आकाशमा किन हुन्छ बारम्बार दुर्घटना ? के हामी आकाशमा हुने दुर्घटना कम गर्न सक्दैनौं ? बुधबार दुर्घटना भएको सौर्यको विमान कयौं वर्ष पुरानो, मर्मत पछिको परीक्षण गर्न लागिएको लगायतका तथ्यहरु बाहिरीएका छन् । वर्षौं पुरानो जहाज चलाउनै पर्ने के थियो । परीक्षण गर्नुपर्ने जहाजमा १९ जना सवार हुनैपर्ने बाध्यता के थियो । जहाज के कारणले दुर्घटना भयो ? सरकारले मृत्यु पछिको राहत मात्रै होईन् मृतकलाई श्रद्वाञ्जली र परिवारलाई समवेदना मात्रै होईन दुर्घटना कम गर्न कारण खोज्ने र न्युनिकरणमा लाग्नु अहिले आवस्यकताको हो । यातायातका क्षेत्रमा जल, थल र आकाशमा रहेको समस्या तत्काल खोजी र त्यसको न्युनिकरणमा सरकार लाग्नु पर्छ ।
