बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मन्त्रीको अराजकतामा लगाम लगाऊ

मन्त्रीको अराजकतामा लगाम लगाऊ


  • Dhorpatan News
  • साउन १५ २०८१, मंगलबार

गण्डकीका मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे आपराधिक पृष्ठभूमिसँग जोडिएका व्यक्ति हुन् । तर, उनी पहिलो प्रदेशसभा निर्वाचनबाटै गण्डकीको सांसदमात्र भएनन्, सत्ताको ‘तुरुप’ बन्ने अवसर पाए । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो सत्ता टिकाउन मन्त्री नियुक्त गरेपछि उनी पटक–पटक मन्त्री हुने नेतामा दरिए । दोस्रो प्रदेशसभा चुनावमा निर्विरोध बनेका उनी अहिले पनि उनको हातमा गण्डकीको महत्वपूर्ण भौतिक योजना मन्त्रालय छ । उनी एमाले नेता खगराज अधिकारी तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मन्त्रीपरिषद्मा दोहोरिएर मन्त्री बनेका छन् । पछिल्लो पटक सुरेन्द्रराजलाई बहुमत जुटाउन उनी महत्वपूर्ण नै थिए । ६० सदस्यीय प्रदेशसभामा सत्ता टिकाउने तुरुप बनेका मनाङे उट्पट्याङ कुरा गर्छंन् । उनको कुरा सुन्दा रमाइलो पनि लाग्छ तर उनको व्यवहार भने मन्त्री पद सुहाउँदो छैन । यसअघि पनि विभिन्न व्यक्तिमाथि हातपात गर्ने, कर्मचारीलाई अपशब्द बोल्दै आएका उनले पछिल्लो समय कार्यालयको मर्यादा पनि कायम गरेनन् । कार्यालयमा भित्री गञ्जीमात्र लगाएर बसेको उनको तस्वीर सामाजिक सञ्जालमा आयो । सामाजिक सञ्जालमा तस्वीर आएपछि उनले त्यसको दोष पत्रकारमाथि थोपरे र पत्रकारलाई पिट्नुपर्ने अभिव्यक्ति दिन पुगे । समग्रमा मनाङेले गल्तीसहित आफू कानून कार्यान्वयन गर्ने निकायमा रहेको व्यक्ति हो भन्ने बिर्से । जसले गर्दा यतिबेला प्रदेश सरकारका मन्त्रीको चरित्रमाथि नै प्रश्न उठेको छ । पत्रकारसम्बघ संस्थाहरुले उनीमाथि कारवाहीको माग गरेका छन् ।
यतिबेला प्रादेशिक संरचनामाथि विभिन्न कोणबाट टिका–टिप्पणी भइरहेको छ । आपराधिक पृष्ठभूमिबाट आएका सांसद र मन्त्रीहरुको भूमिकाले पनि प्रश्न उठाउनेहरुलाई बल पुगेको छ । यसले गर्दा समग्र व्यवस्था नै धराशायी बन्ने पो हो कि भन्ने पनि भएको छ । आपराधिक पृष्ठभूमिका व्यक्तिले पनि सुध्रने मौका पाउनुपर्छ । तर, सधैँ कानून मिच्ने र अराजकता मच्चाउने छुट उसलाई हुँदैन । मनाङले आफूलाई सम्हाल्नुपर्छ । गल्ती सच्याउनुपर्छ । अर्कोतर्फ, अराजक व्यक्तिलाई प्रोत्साहित गरिनु हुँदैन । त्यस्ता व्यक्तिलाई नसिहत दिनुपर्छ । प्रदेशमन्त्रीको रुपमा मनाङले दिएको अभिव्यक्ति क्षम्य छैन । मुख्यमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कारवाही गर्न खुट्टा कमाउनु हुँदैन । अराजकतामा लगाम लगाउनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->