साउन १५ लाई कतिले खिर खाने पर्वको रुपमा मनाए भने कतिपयले यो दिनलाई कोदो दिवसको रुपमा स्मरण गरे । कुअन्न मानिने कोदो नेपालको रैथाने बालीमध्ये एक हो । कोदोले लामो समयसम्म नेपालीलाई भोकमरीबाट बँचायो । गाउँमा हुनेखानेले छिःछि भने पनि कोदो गरीबको मुख्य खाद्यान्न बन्यो । पाखोबारीमा हुने यो अन्न अडिलो र पोसिलो छ छँदैछ, औषधीय गुण पनि प्रसस्त पाइने पोषणविदहरुको बताउँदै आएका छन् । नेपालमा भने यो रैथाने बालीको प्रवद्र्धनभन्दा पनि यसलाई कसरी चुत्थो सावित गर्ने भन्नेतिर धेरै समय खर्चिने काम भयो । धनीमानीले नखाने र गरीबको खाद्यान्न भन्ने भएपछि यसै पनि यसलाई हेय भावले हेरियो । तर, पेट भर्न लुकीछिपी खाने बाध्यता पछिसम्मै कायम रह्यो । अर्कोतिर, अमेरिकी सहयोग नियोगले नेपालको भोकमरी अन्त्यको लागि चितवनदेखि सुदूरपश्चिमसम्मका जंगल फँडानीको अभियान चलायो । धान उत्पादन बढ्न थाल्यो । धान उत्पादनमात्रै बढेन, विदेशबाट चामल आयात गर्न थालियो । दाताहरुले नै चामल आयातलाई प्राथमिकतामा राखे । कामको लागि खाद्यान्न वा अन्य नाममा गाउँगाउँसम्म चामल पु¥याइयो । रैथानेबाली प्रोत्साहनतर्फ कसैको ध्यान गएन । कोदो मासिएको त छैन तर कोदोजस्तै रैथाने कागुनोलगायतका केही बालीहरु भने झण्डै लोपोन्मुख बन्न पुगे । कृषिप्रधान देश अहिले पनि चामल आयात गर्छ । चामलमात्र किन ? एक वर्षमा ७५ करोडको त कोदो नै आयात भएको तथ्याङ्क पनि हाम्रो सामु आएको छ । कोदोको आयात बढ्नुमा पछिल्लो समय सहरतिर बढेको ‘ढिँडो संस्कृति’ कारक होला । त्यसमा रक्सी बनाउने प्रयोजन पनि मिसियो होला ।
जे होस्, अडिलो र पोसिलो कोदोको महिमा र लोकप्रियता पछिल्लो समयमा बढेको छ तर नेपालमा उत्पादन चाहिँ घटेको छ । उत्पादनतिर कसैको आँखा गग्एको छैन बरु कुहाएर बनाइने जाँड र रक्सीको ब्राण्डिङमा भने राजनीतिज्ञहरुको चासो बढेको छ । यो प्रवृत्ति गलत छ । नेपालमा रैथानेबाली संरक्षणको अभियान थाल्न ढिलो भइसकेको छ । भोकमरीमा काम लाग्ने, लामो समय भण्डारण गर्न सकिने र औषधीय गुण भएका खाद्यान्नका बीऊ नै हराउने अवस्था आउनु सुखद हैन । कृषि कर्म नै हेयको कर्म बनेको नेपालले अब चाहिँ रैथानेबाली संरक्षणमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ । रैथानेबाली जोगाउनु र प्रवद्र्धन गर्नु भनेको आत्मनिर्भर बन्नुमात्र हैन,आफ्नोपनको संरक्षण पनि हो भन्ने आमनागरिकलाई बुझाउनुपर्ने भएको छ ।
