बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कक्षा १२ को नजिता र हाम्रो शिक्षा प्रणाली

कक्षा १२ को नजिता र हाम्रो शिक्षा प्रणाली


  • Dhorpatan News
  • साउन २० २०८१, आइतबार

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कक्षा १२ को परीक्षामा ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । कुल ३ लाख ९० हजार ९ सय ६८ जना विद्यार्थी नियमित परीक्षामा सामेल भएकोमा १ लाख ८७ हजार २१ जनाले ग्रेड प्राप्त गरेनन् । अर्थात् उनीहरु उपल्लो कक्षा पढ्न अयोग्य सावित भए । गतवर्षभन्दा सुधारिएको परीक्षा उत्तीर्ण २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीहरुले अब आफूले प्राप्त गरेको नतिजा अनुसार स्नातक तहमा भर्ना पाउने छन् । तर, यति धेरै संख्यामा विद्यार्थीहरु ननग्रेड हुँदा हाम्रो शिक्षा प्रणालीमाथि पुनः प्रश्न उठेको छ । ननग्रेड ल्याउने विद्यार्थीहरुलाई यही भदौ २५ र २६ गते पूरक परीक्षाको व्यवस्था गरिएको छ । तीनवटा विषयमा असफल विद्यार्थीले भने अर्को वर्ष कुुर्नुको विकल्प छैन । सवैभन्दा धेरै विद्यार्थीहरु अंग्रेजी,एकाउण्ट र सामाजिक विषयमा असफल किन भए भन्ने प्रश्न झन पेचिलो बनेको छ । यसअघि एसइईमा पनि जम्मा ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । राज्यले शिक्षामा अरबौं लगानी गरेको छ । तर, लगानी अनुसारको प्रतिफल प्राप्त भएको छैन । विद्यार्थीहरु असफल हुनुमा कसको दोष छ भन्नेबारे शिक्षा मन्त्रालयले गम्भीरतापूर्वक मनन गरेको छैन । जसले गर्दा शिक्षामा भएको लगानी बालुवामा पानीजस्तै हुन पुगेको छ ।
राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेको छ र लगानी गरेको छ । लगानी पर्याप्त नहोला तर त्यहाँ राज्यको नुनपानी खाएका दक्ष शिक्षहरु रहेका छन् । तालिम प्राप्त त्यस्ता शिक्षकहरु पढाएका विद्यार्थीहरु चाहिँ किन राम्रो नजिजाबाट चुक्छन्, किन सामुदायिक विद्यालयमा अध्ययन गर्नेहरु कम उत्तीर्ण हुन्छन् ? स्वभाविक रुपले शिक्षकहरुमाथि औंला उठ्छ । शिक्षामा भएको चरम राजनीति र राजनीतिक दलको कार्यकर्ता बनेका उनै शिक्षकले आफ्नो कर्तव्य बिर्सँदा यो अवस्था आएको हो भन्ने आरोपमा तुक छैन भन्न मिल्दैन । समयमा कोर्स नसक्ने, विद्यार्थीको अनुशासन कायम नराख्ने र राजनीतिक दलको झोला बोक्ने प्रवृत्तिबाट शिक्षकहरु मुक्त छैनन् । व्यवस्थापन समिति पनि दोषमुक्त छैनन् तर शिक्षक स्वयं पेशाप्रति बफादार भएको खण्डमा विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सकिन्छ भन्ने प्रमाणित भएकै विषय हो । अतः अहिले आएको नतिजाको बढी जिम्मेवारी शिक्षकहरुले पनि लिनैपर्छ । कम्तिमा शिक्षकहरुले दोषमुक्त हुने कृत्य गर्नुपर्छ । त्यसका अलावा पछिल्लो समय विद्यार्थीमा घट्दो पठन संस्कृति झन डरलाग्दो बनेको छ । आजकलका विद्यार्थीहरु किताबमा भन्दा अन्यत्र बढी रमाउँछन् । इन्टरनेट र सामाजिक सञ्जालमा मन डुलाउँछन् । यो डरलाग्दो प्रवृत्ति रोक्नको लागि विद्यालय र शिक्षकले मात्र सम्भव हुँदैन । अभिभावकहरुले आफ्ना नानीबाबुमाथि सकारात्मक तर कडा निगरानी राख्दामात्र नतिजा सुधार्न सकिन्छ । कम्तिमा प्लस टु पढ्ने नानीबाबुले के पढ्दैछन्, कक्षाकोठामा गएका छन् कि छैनन् र उनीहरुको ध्यान कता गएको छ भन्नेबारे अभिभावकले चासो राख्नुपर्छ । छाडा छाड्दा नतिजा बिग्रने त छँदैछ, कुलतमा फस्ने डर पनि उत्तिकै छ । अतः अभिभावक चनाखो हुँदामात्र पनि ठूलो उपलब्धि हात पर्छ । रह्यो, हामीले पढाउँदै आएको कोर्स र परीक्षा प्रणाली, त्यसमा पनि पुनरावलोकन गर्नैपर्छ । परीक्षा लिनु भनेको अनुत्तीर्ण गराउनु नै हो भन्ने मानशिकताबाट अब मुक्त हुनैपर्छ । आधुनिक जमानामा कस्तो कोर्स पढाउने,कसरी विद्यार्थीलाई सिकाउने र परीक्षा लिने भन्नेबारे पनि नयाँ कोणबाट सोच्नु अपरिहार्य बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->