म्याग्दीमा माओवादीका एक पूर्वलडाकुले उपचार खर्चको माग गर्दै आन्दोलन गरिरहेका छन् । आफ्नै पार्टीको सरकार हुँदा पनि उपचार खर्च नपाएको उनको गुनासोप्रति सहानुभूति हुनु स्वभाविक हो । माग संवोधन गरिनुपर्छ । उनको मात्र नभएर सवैप्रकारका द्वन्द्वपीडितको मागको संवोधन हुनुपर्छ र शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउनुपर्छ ।
देशका मुख्य तीनदलबीच हालै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम टुंगो दिने सहमति जुटेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिसँगै १८ वर्षदेखि थाँतिरहेको संक्रमणकालीन न्यायको मामिला टुंगोमा पुग्ने र सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रिया टुंगोमा पुग्ने आशा पलाएको छ । यसअघि सशस्त्र युद्धको नेतृत्व गर्ने माओवादी केन्द्र र त्यसबाट फुटेका घटकहरुको एवं नेपाली कांग्रेस–एमालेलगायतका दलहरुबीच विभिन्न विषयमा विमति रहँदै आएको थियो । मेलमिलापका नाममा गम्भीर अपराधका मुद्दामा उन्मुक्ति दिन नमिल्ने अन्तर्राष्ट्रिय दबाब रहँदै आएको थियो । अर्कोतर्फ, न्यायको माग गर्ने राज्य र माओवादीतर्फका द्वन्द्वपीडित, माओवादीका बहिर्गमित लडाकुका मागहरु फरक थिए । ती सवै विषयलाई संवोधन गर्दै तीन दलले मध्यमार्गी बाटो लिएपछि सहमति जुटेको हो । विधेयक पीडितमैत्री रहेको बताइएको छ । क्रुरतापूर्वक र नियतपूर्वक गरिएको हत्यालाई अपराध नै मान्ने र त्यसमा संलग्नलाई मौजुदा कानून अनुसारको २५ प्रतिशत सजाय दिइने पनि दलहरुबीच सहमति छ । अधिकारकर्मीहरुले भने दलहरुबीचको यो सहमति वैध र दीगो हुनुपर्ने माग गरेका छन् । उनीहरुको मागलाई अस्वभाविक रुपले लिनु हुँदैन ।
सशस्त्र द्वन्द्व काल्पनिक घटना हैन, तीतो यथार्थ हो । द्वन्द्वका घाउहरु पुरिन सकेका छैनन् । बेपत्ताहरुको अवस्थाबारे अझैसम्म पनि थाहा नभएको अवस्था छ भने मारिएका राज्यपक्ष, तत्कालीन विद्रोही माओवादीर सर्वसाधारणका परिवारको आँशु ओभाएको छैन । त्यतिमात्र कहाँ हो र ? हिजो संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य घोषित गरिदिएका ४ हजार ९ जना बालसैनिकको पीडा फरक छ । उनीहरुले लडाकु शिविरबाट बाहिरिँदा न क्षतिपूर्ति रकम पाए न त समायोजन नै रोज्न पाए । दलहरुबीचको सहमति अनुसार उनीहरुको पनि तथ्याङ्क लिइने र राज्यबाट परिपूरण गरिने भनिएको छ । सहमति सुन्दर शब्द हो । दलहरुबीच भएको यो सहमतिलाई अझ व्यापक बनाउने, पीडितहरुको चित्त बुझाउने, गैरन्यायिक हत्यामा संलग्नलाई कारवाही गर्ने अनि द्वन्द्वका घाउहरु पुर्नुपर्छ ।
