शेयर बजारमा नयाँ रेकर्ड बनिरहेका छन् । सोमबार २७ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेले नयाँ रेकर्ड कायम गर्दा १७१ कम्पनीको मूल्यय बढेको छ भने उत्पादन र प्रशोधनसँग जोडिएकासहित ६८ कम्पनीको मूल्य घटेको छ । तीनवटा कम्पनीको बजार स्थिर देखिएको छ । केही दिनयता शेयर बजारमा देखिएको सुधारले लगानीकर्ता उत्साहित बनेका छन् । केपी ओली नेतृत्वमा बनेको सरकार, यसका अर्थमन्त्री विष्णु पौडेलकै कारण शेयर बजारले नयाँ उचाइ कायम गरेको जिकिर गरिएको छ । नयाँ सरकार बनेसँगै केही प्रतिवद्धताहरु बाहिर आएका छन् । देशमा लगानीको वातावरण बन्ला भन्ने थोरै भए पनि आशा पलाएको छ । सुशासन र विकास निर्माणप्रति गरिएका प्रतिवद्धतालाई लगानीकर्ताले सावधानीपूर्वक नियालिरहेका छन् ।
नेपालमा पछिल्लो समय आर्थिक सूचकाङ्कहरु सकारात्मक देखिएका छन् । विप्रेषण बढेको छ । विदेशी मुद्राको संचितिमा पनि व्यापक सुधार आएको छ । यस्तै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷०८२ को लागि ल्याएको मौद्रिक नीतिले शेयर बजारमा गरिने लगानीलाई सहजता प्रदान गरेको छ । आर्थिक वर्षको अन्त्यसँगै बजारमा तरलता प्रवाह पनि भएकै छ । सरकारी ढुकुटीबाट पैसा बाहिर निस्केको छ । ठेकेदारहरुले भुक्तानी पाएका छन् । त्यो प्रभाव स्वभाविक रुपले शेयर बजारमा परेको छ । अहिले शेयर बजारमा देखिएको उछाललाई कतिपयले लगानीको क्षेत्र संकुचन हुँदाको परिणामको रुपमा पनि अथ्र्याउने गरेका छन् । मान्छेसँग पैसा छ तर उसले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उत्साह भने देखाएको छैन । बजार सुस्त हुँदा उद्योग÷व्यवसायमा लगानी गर्ने वा जोखिम मोल्ने कष्ट गर्नेहरु कम देखिनु अस्वभाविक पनि हैन । पछिल्लो समय शेयरमा लगानी गरे सुरक्षित भइन्छ र नाफा पनि कमाइन्छ भन्ने सन्देश प्रवाह भइरहेको छ । पुराना खेलाडीसहित यो क्षेत्रमा नयाँ व्यक्तिहरुको पनि प्रवेश भएको छ । सर्वसाधारणले पनि प्राथमिकसहित दोस्रो बजारको शेयर किनबेचमा हात हालेका छन् । घरजग्गालगायतका व्यवसायमा आएको सिथिलताले शेयर बजारलाई लगानीको अर्को क्षेत्रको रुपमा स्थापित गरिदिएको छ । कीर्तिमानी कारोबार हुनुलाई अन्यथा मान्नु हुँदैन । तर, शेयर बजारमा आएको यो उछाल हेरेर नै अर्थतन्त्र उकासियो, लगानीको वातावरण बन्यो भन्ने प्रचारबाजी भने त्यति सुहाउँदैन । बरु, किन अस्वभाविक रुपले नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ? यसको वास्तविकता के हो ? भोलि बजार एकाएक तल जाँदाको दुष्परिणाम के हुन्छ ? शेयर बजारलाई दीगो र भरपर्दो अनि आर्थिक वृद्धिको सहायक कसरी बनाउने भन्नेबारे गम्भीर विमर्श जरुरी देखिएको छ । केही कम्पनीको शेयर एकाएक बढ्नुमा पर्दा पछाडिका खेलाडीको हात छ कि भन्नेजस्ता प्रश्नको उत्तर सरकारबाटै आउनुपर्छ । मुख्य कुरा, आर्थिक स्थायित्व र लक्ष्य अनुसारको आर्थिक वृद्धिका लागि शेयर बजार साधन बन्नुपर्छ । बजार नै नबुझेका मान्छेहरुलाई कतै गुमराहमा राखिएको छ छैन र अहिलेको उछाल वास्तविक हो र रोगले सुन्निएको जस्तो हैन भन्ने प्रमाणित गर्नुपर्छ ।
