२०८० को चैत ४ गते प्रधानमन्त्रीकै सामुन्ने पोखराका मेयर धनराज आचार्यले पोखरा २४ सै घण्टा खुल्ला हुने घोषणा गरे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित सो कार्यक्रमअघि नै पोखराका केही बारहरुले त्यस्तो स्वीकृति पाइसकेका थिए । राजनीतिक नेतृत्वबाट भएको निर्णय कार्यान्वयन गराउने दायित्व स्थानीय प्रशासनसँग रहन्छ ।
२०७८ सालमै सरकारले रात्री व्यवसायमा लगाएको समयसीमा घटाउनासाथ स्थानीय प्रशासनले रात्रीकालीन व्यवसाय संचालनका निम्ति ४२ बुँदे मापदण्ड बनाइसकेको थियो । मापदण्ड पूरा गर्नेहरुलाई रातभर व्यवसाय संचालन गर्न दिने तर त्यसका निम्ति केही तयारी गर्नुपर्ने,सुरक्षा प्रबन्धका निम्ति सिसीक्यामेरा जडान गरिनुपर्ने,व्यवसायीहरुले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने तथा सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने प्रशासन÷प्रहरीको माग थियो । तर, ती मागहरुको खासै सुनुवाइ भएन । बरु, अब रातभर व्यवसाय गर्न पाइने भयो भन्ने भाष्य निर्माण चाहिँ भयो ।
गृह मन्त्रालयले दिउँसो र रातको समयमा होटल÷रेस्टुराँ, डान्स÷डिस्को÷बारलगायत व्यवसाय सञ्चालन गर्न आचारसंहिता बनाएको छ । त्यो आचारसंहितामा रोजगारदाता, कर्मचारी र ग्राहकले पालना गर्नुपर्ने प्रावधानदेखि मजदुरको हकहित र कतिसम्म भने महिला कर्मचारीका सन्तानसँगै भएमा रोजगारदाताले स्तनपान कक्षको व्यवस्था मिलाउनुपर्ने पनि उल्लेख छ । साउण्ड प्रुफ,मूल्यसूचीविपरीत बढी शुल्क लिन नपाइने, सीसीटीभीबाट व्यवसायस्थलको निगरानी गर्नुपर्ने र त्यस्तो निगरानीको रेकर्ड ३० दिनसम्म राख्नुपर्ने, यौन हिंसा, दुव्र्यवहार, मानव तस्करी, अन्य अपराधजन्य कुनै पनि गतिविधि हुन नदिन रोजगारदाता÷सञ्चालकले विशेष निगरानी गर्नुपर्ने र सोहीअनुसार कर्मचारीलाई कार्यस्थलमा सजग बनाउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।
तर, पोखराको रात्रिकालीन व्यवसायमा तोकिएका मापदण्ड पूरा नभएको व्यवसायी स्वयं स्वीकार्छन् । मादपण्ड असाध्यै कडा भएको र सोही अनुसार रात्रिकालीन व्यवसाय संचालन गर्न कठीन हुने उनीहरुको तर्कमा व्यावसायिक स्वार्थ लुकेको बुझ्न गाह्रो छैन । मापदण्ड कार्यान्वयन गराउने र नहुँदा दर्ता खारेजीसम्मको अधिकार प्रशासनसँग छ । पोखरामा रात्रिकालीन व्यवसायकै कारण होहल्ला, आपराधिक घटनामा बृद्धि हुँदा र व्यवसायीहरुले मापदण्ड पूरा नगर्दा पनि प्रशासनले केही गर्न सकेको छैन । रात्रिक्लब संचालकहरु यति शक्तिशाली र पहुँचवाला छन् कि उसको अगाडि प्रहरी पनि निरीह बन्न पुगेको छ । यहाँको एउटा क्लबलाई कारवाही गर्दा वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुखकै सरुवा भएको जिकिर गरिएको छ ।
बैदाम पोखराको मुख्य पर्यटकी क्षेत्र हो । सो क्षेत्र रातभर खोलिनुपर्छ तर आचारसंहिता पालना हुनैपर्छ । स्थानीयहरु सुत्नै नसक्ने गरी चर्को संगीत बजाउने, होहल्ला गर्ने, मदिरा लागुऔषध खाएर सडकमै झगडा गर्ने, यौनजन्य क्रियाकलापहरु निषेध हुनैपर्छ । स्थानीयबासीहरु अहिले रात्रिकालीन व्यवसायले निम्त्याएको समस्याका कारण पीडित बनेका छन् । उनीहरुको भावनाको संवोधन गरिनुपर्छ । आचारसंहिताविपरीत कार्य गर्नेहरुलाई कारवाही र रात्रिकालीन व्यवसायमा नियमित अनुगमन हुनैपर्छ ।

