संगीत र सिनेमालाई मानव जीवनबाट अलल्याउन सकिँदैन । संगीत र सिनेमाले मनोरञ्जन मात्रै दिँदैनन्, युगको कथा भन्छन् र समाज परिवर्तनको भूमिका निर्वाह गर्छन् । साहित्य, सिनेमा र संगीतको महत्व डिजिटर युगमा पनि घटेको छैन । नेपाली संगीतको इतिहास लामै छ । सत्य हरिश्चन्द्रलाई पहिलो सिनेमा मान्ने हो भने त्यसपछि बनेका सिनेमाहरुलाई राजा महेन्द्रले राष्ट्रियता र पञ्चायतको पक्षमा प्रयोग गरे । यद्यपि,प्रगतिशील कलाकारका सिर्जनालाई नेपाली कम्युनिष्टहरुले आफ्नो संगठन बिस्तारमा प्रयोग गरेको इतिहासलाई पनि भुुल्न चाहिँ मिल्दैन ।
पछिल्ला केही दशकयता भने नेपाली सिनेमाले व्यावसायिक धार समात्ने प्रयत्न ग¥यो । केही सिनेमाहरु मूलधार बाहिर गएर सामाजिक विषयबस्तुमा निर्माण भएपनि अधिकांशले पुरानै फर्मुला समाते । तीमध्ये कति सफल भए, कतिले पानी भन्न पाएनन् । तर, व्यवसायलाई नै केन्द्रमा राखेर बनाइएका केही राम्रा सिनेमाहरुले भने दर्शकको मनमा अमिट छाप छाडे । ती चलचित्रको सफलताले गर्दा लगानीकर्ताहरु सिनेमा बनाउन कस्सिने वातावरण बन्यो । आधुनिक सिनेमा हलहरु संचालनमा आए । एकैहप्ता २ वटासम्म सिनेमा रिलिज हुने अवस्था सिर्जना भयो । कति सिनेमाले हल नपाइने पीडा व्यहोरे । तर, दुर्भाग्य ! करिब २ वर्षयताको लकडाउन र निषेधाज्ञाले सिनेमा क्षेत्र थला परेको छ । सिनेमा हल बन्द हुँदा करोडौंको क्षति पुगेको छ भने कतिपय हलहरु सधैँको लागि बन्द भएका छन् । तयार भएका सिनेमाहरु दर्शकसम्म पु¥याउन सकिएको छैन । सिने क्षेत्रका कलाकार, प्राविधिकहरुको कन्तविजोग छ । देशभर रहेका २ सय हलहरु बन्द हुँदा रोजगारी मात्रै गुमेको छैन, सरकारले आम्दानी पनि गुमाएको छ । छायाङ्कन रोकिएको छ । सिनेमा हल खुल्ने समय अनिश्चित बनिरहँदा केही सिनेमाहरुले डिजिटल प्लेटफार्ममार्फत् रिलिजको जमर्को गरेका छन् । विश्वभर नै वैकल्पिक माध्यमबाट सिनेमा रिलिज गरिइँदा यहाँ त्यो प्रयोग हुनु स्वभाविक हो तर नेपालमा डिजिटल प्लेटफार्म भरपर्दो छैन । ओभर द टप मिडिया सर्भिस ( ओटीटी) नेपालमा प्रयोगमा ल्याइए पनि भरपर्दो हुन सकेको छैन । भारतमा यो प्रविधि उपयोगमा आएको छ । विश्वप्रसिद्ध नेटफ्लिक्स तथा अमेजनजस्ता कम्पनीहरुले यही माध्यमबाट सिनेमा रिजिलमा ल्याइरहेका छन् । नेपालमा पनि यसको प्रयोग भएको छ । समय प्रतिकूल भएकाले अब निर्माताहरुले यी प्लेटफार्महरुलाई उपयोग गर्नुपर्छ । अनन्तकालसम्म सिनेमा निर्माण बन्द गर्न सकिँदैन । सिनेमालाई उद्योग भनिए पनि राज्यले यो क्षेत्रमा खासै चासो दिएको छैन । यो विषमतामा राज्यले सिनेमाको लागि अनुकूल वातावरण सिर्जना गराउनुपर्छ । बन्द हुने अवस्थामा पुगेका हलहरुलाई राहतको प्याकेज ल्याउनुपर्छ भने सिनेमा निर्माताहरुलाई पनि त्यस्तै सुविधा दिनुपर्छ । मुख्यकुरा,अब डिजिटल प्लेटफार्म नै सही, सिनेमा चल्ने वातावरण बनाउनेतर्फ लाग्नैपर्छ ।

