बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल एयरलाइन्समा हस्तक्षेप गर

नेपाल एयरलाइन्समा हस्तक्षेप गर


  • Dhorpatan News
  • भाद्र १९ २०८१, बुधबार

दशैंको मुखमा नेपाल एयरलाइन्सका सबैजसो जहाजहरु थन्किएका छन् । इञ्जिन मर्मत गर्नुपर्ने भन्दै ती जहाजहरु थन्क्याइएको हो । जहाज थन्किएपछि एयरलाइन्सले यसअघिका सबै टिकट बुकिङ रद्द गरेको छ । दर्शैको मुखमा नेपाल आउनका निम्ति टिकट बुक गरेकाहरु यो निर्णयबाट मर्कामा परेका छन् । केहीले यात्रा स्थगित गरेका छन्, आउनैपर्नेले चाहिँ महँगोमा अर्को एयरलाइन्सको टिकट किनेका छन् ।
नेपाल वायुसेवा निगमको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार ग्राउण्डेड भएको हो भने अर्को वाइडबडी जहाज नाइन एन–एएलजेट २७ सेप्टेम्बरबाट ग्राउण्डेड छ । अन्तर्राष्ट्रिय उडान भर्ने दुबै वाइडबढी थन्किएछि सांसदहरुले यसबारे प्रश्न उठाएका छन् । बुधबार संसदमा नेपाल वायुसेवा निगमलाई डुबाउनकै लागि यस्तो गरिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । जुन नाजायज छैन ।
नेपाल वायुसेवा निगम लामो समयदेखि घाटामा चल्दै आएको छ । चीनबाट किनिएका विमानहरु प्रयोगविहीन अवस्थामा छन् । कर्मचारीतन्त्रको लापरवाही, राजनीतिक नेतृत्वको हस्तक्षेप तथा गतिलो व्यावसायिक योजना नहुँदा यो अवस्था आएको हो । हरेक वर्ष ऋणमात्र थप्पे काम भएको छ । नेपाल वायुसेवा निगम सुधारको लागि विभिन्न प्रयत्नहरु नभएका हैनन् । सुधारका निम्ति सुझाव दिनको लागि समितिहरु बनेकै हुन् । तर, ती सुझावहरु कार्यान्वयमा आएका छैनन् । बरु, सुधारका बारेमा आफ्नो प्रतिवेदन र संसदको आदेशलाई पनि बेवास्ता गर्ने गरिएको छ ।
नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया थालेको थियो । तर, कर्मचारीभित्रैबाट कडा आलोचना भएपछि सरकार अगाडि बढ्न सकेन । अवस्था अहिले पनि उस्तै छ । हवाइ उड्डयन प्राधिकरणका महाप्रबन्धक कति शक्तिशाली छन् भने उनले तालुकदार मन्त्रीलाई नै नटेरेको दृष्टान्त ताजै छ । राजनीतिक नेतृत्व पनि निगमसँग जोडिँदै आएको छ । धमिजा,लाउडा, चेज, चीनसँग किनिएका जहाज प्रकरण र पछिल्ला दुई वाइडबडीमा पनि भ्रष्टाचार भएको मानिँदै आएको छ । यी र यस्ता समस्यका कारण नेपाल एयरलाइन्स गम्भीर समस्यामा छ । सँगै स्थापना भएका एयरलाइन्सहरुले आफ्नो बजार बिस्तार गर्दा, जहाज थप्दै गर्दा यो भने ‘कोमा’मा पुगेको छ । सधैँ घाटामा जाने, सिजनमा नचल्ने र सुधारका लागि दिइएका सुझाव कार्यान्वयनमा उदासिनता देखाउने प्रवृत्ति अन्त्य नभएसम्म समस्या ज्यूँकात्यूँ रहन्छ । नेपाल एयरलाइन्सलाई बचाउनका निम्ति ढिला भइसकेको छ । सरकारले उचित कदम नचाल्ने हो भने राष्ट्रिय ध्वजावाहक साँच्चिकै बरबाद हुन्छ । ठूलो घाटा व्यहोर्नुपर्छ । राष्ट्र लज्जित हुने दिन आउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->