बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पृथ्वी राजमार्ग : यो दुर्दशा कहिलेसम्म ?

पृथ्वी राजमार्ग : यो दुर्दशा कहिलेसम्म ?


  • Dhorpatan News
  • भाद्र २४ २०८१, सोमबार

मुग्लिन–पोखरा सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ कम्पनीले थप १५ महिना समय मागेको छ । सम्झौता अनुसार यो सडकको काम यही महिनामा सकिनुपथ्र्यो । तर,मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर (पूर्वी खण्ड)को ६४ र जामुनेदेखि पोखरासम्म ( पश्चिम खण्ड) मा ३० प्रतिशतमात्र काम सकिएको छ ।
२०७८ जेठ २ गते भएको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा यो सडक स्तरोन्नतिको सम्झौता भएको थियो । पूर्वी खण्डको म्याद १५५ दिन थपिएको छ भने पश्चिम खण्डको १०१ दिन म्याद थप भएको छ । थपिएको समयमा पनि काम नसिकने भन्दै ठेकेदार कम्पनीले थप १५ महिनाको समय मागेको छ । जसले गर्दा थप १५ महिना पृथ्वी राजमार्गको यात्रा कष्टकर हुने निश्चित भएको छ । ठेकेदार कम्पनीले काम समयमा नसकिनुमा मुआब्जा विवाद, बिजुलीका पोलहरु समयमा नसारिनु,पालिकाहरुले बाटो बनाउँदा चाहिने सामग्रीमा अतिरिक्त कर लगाउनुजस्ता कारण देखाएको छ । पोखरा र गण्डकी प्रदेशको ‘लाइफ लाइन’ पृथ्वी राजमार्गको अवस्थाले नागरिकलाई सास्तीमात्र दिएको छैन, अर्थतन्त्र नै सिथिल बनाएको छ । मूल्यवृद्धि गराएको छ । सबैभन्दा ठूलो असर त पर्यटन उद्योगमा गरिदिएको छ । बाटोकै कारण पोखरा आउने पर्यटक घटेका छन् । सामान ढुवानी महंगो बनेको छ । दुर्घटनाबाट ज्यान गुमाउने र अंगभङ्ग हुने क्रम पनि उत्तिकै छ ।
ठेक्का लिने तर समयमा नसक्ने नेपालको पुृरानै रोग हो । वचनमा पक्का र तोकिएको समयमा काम गर्ने भनेर मानिएको चिनियाँ ठेकेदारले पनि बिलम्ब गरेपछि चाहिँ अति नै भएको छ । ठेकेदारले देखाएका कारणहरु सही होलान् तर पछिल्लो समयमा चिनियाँ कम्पनीले लिएका सबैजसो काममा ढिलासुस्ती देखिएको छ । जसले गर्दा चिनियाँप्रतिको विश्वास त गुमेको छ नै, नेपाली पक्षले पनि ठूलो क्षति ब्यहोर्नु परेको छ । ठेकेदारले देखाएका समस्याहरु साँच्चिकै सही हुन् भने त्यसको निराकरणमा सरकारले पहल थाल्नुपर्छ । हैन भने, निर्माण कम्पनीलाई तोकिएकै समयमा काम गर्न दबाब सिर्जना गर्नुपर्छ । पोखराका मेयरले यो विषय धेरै पहिला नै उठान गरेका थिए । अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीले पनि पृथ्वी राजमार्गको स्तरोन्नतिमा चासो राखेका छन् । चासो राखेर वा बैठक बोलाएरमात्र समस्याको समाधान हुँदैन । निर्माण कम्पनीलाई जिम्मेवार र जवाफदेही बनाउने अनि अवरोधहरु हटाउने काममा पनि उत्तिकै अग्रसरता देखाउनुपर्छ । जनताले थप १५ महिना सास्ती ब्यहोर्न सक्दैनन् भन्ने कुराको मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->