बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चिनियाँ भाषाको पढाइलाई व्यापक बनाइयोस्

चिनियाँ भाषाको पढाइलाई व्यापक बनाइयोस्


  • Dhorpatan News
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा महामनगरले यहाँ १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउने निर्णय गरेको छ । यही भदौ २८ गतेदेखि कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क रुपमा चिनियाँ भाषा सिकाइने महानगरले जनाएको छ । भाषा कक्षा संचालनको लागि नेपालस्थित चिनियाँ दूताबासले १० जना शिक्षक खटाइदिएको छ । ती शिक्षकहरुले अंग्रेजीलाई माध्यम बनाएर चिनियाँ भाषा पढाउने छन् । चिनियाँ भाषाको कक्षा संचालन सामान्य विषय हो तर यसले भविष्यमा त्यो भाषा जान्नेहरुका लागि नयाँ अवसरको ढोका खोल्ने निश्चित छ । चिनियाँ भाषाको पढाइबाट पोखराले पनि अप्रत्यक्ष रुपमा ठूलो आर्थिक लाभ लिन सक्ने देखिएको छ ।
पछिल्ला केही वर्षयता नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढ्न पुगेको थियो । कोभिडभन्दा अगाडि त झण्डै डेढ लाख चिनियाँ पर्यटकले पोखराको भ्रमण गरेका थिए । कोभिडपछि भने चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न रोक लगायो । कोभिडपछि पनि सोचेजस्तो गरी चिनियाँ पर्यटक नेपाल आएनन् । सन् २०२३ मा चीनबाट ६० हजार ८७८ जना पर्यटक पोखरा आए । यो अपेक्षाभन्दा कम थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै चीनबाट सोझो उडान होला र थप चिनियाँ पर्यटक आउलान् भन्ने आशा पालेको पोखरा अझै निराश बनेको छैन । कुनै दिन हुलका हुल चिनियाँ पर्यटक आउने अपेक्षा गरिएको छ । चीनसँग नेपालको भाषा मिल्दैन । अंग्रेजी नबोल्ने चिनियाँहरुलाई कुरा बुझाउन अहिले कठिन भइरहेको छ । चिनियाँ भाषा कक्षा संचालनले त्यो अभाव पूर्ति गर्ने अपेक्षा गर्न सकिन्छ । पाहुनालाई उनीहरुकै भाषामा आफ्ना कुरा राख्न सकियो भने त्योभन्दा राम्रो कुरा हुन सक्दैन । महानगरले अहिले जे गरेको त्यो स्वागतयोग्य छ । सकिन्छ भने यो अभियानलाई अन्य विद्यालयमा पनि बिस्तार गर्नुपर्छ । यसले भाषा जानेकालाई रोजगारीमात्र दिने छैन, चिनियाँ पर्यटक आकर्षिक गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गर्नेछ ।
पृथ्वी राजमार्ग निर्माण गरी पोखरा र काठमाडौंको दूरी छोट्याउन, पोखराको सिंचाइ प्रणाली विकास गर्न तथा भूपी राजमार्गमार्फत् तत्कालीन धौलागिरि अञ्चललाई जोड्न मित्रराष्ट्र चीनबाटै सहयोग प्राप्त भएको थियो । सामरिक रुपले महत्वपूर्ण मानिने र तिब्बती शरणार्थीको बाक्लो बस्ती भएको पोखराप्रतिको चिनियाँ अनुराग सामरिक स्वार्थसँग पनि जोडिएको छ । तथापि, मित्रराष्ट्रबाट सहयोग र सदभाव प्राप्त गर्नुलाई अन्यथा मान्न सकिँदैन । मुस्ताङको कोरोला नाका खुल्ला गरेर चीनले पोखराका निम्ति नयाँ सम्भावनाको ढोका खुल्ला गरिदिएको छ । यो पर्यटकीय नगरीमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक आउने सम्भावनालाई मध्यनजर गर्दै आउँदा दिनका निम्ति तयारी गर्नैपर्छ । महानगरले भाषा कक्षा संचालनमार्फत् यो कामको सुरुवात गरेको छ । जसको मुक्तकण्ठले प्रशंसा गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->