पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । विगततिर फर्कने हो भने, यतिबेला पर्यटनको राजधानीमा यहाँको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकहरुले खचाखच हुन्थ्यो । अंग्रेजी महिना अगस्टबाट सुरु हुने सिजनअन्तर्गत नेपाल आएका पर्यटकहरुमध्ये केही पदयात्रामा हुन्थे । अग्रिम बुकिङ गरेका पर्यटकहरुको स्वागत र उनीहरुको व्यवस्थापनको लागि पर्यटन व्यवसायीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । आन्तरिक पर्यटकहरुले कोठा पाउनै मुस्किल हुने ती दिनहरु अहिले कथा भएका छन् । यो सिजनमा बुकिङ राम्रो नभएको पर्यटन व्यवसायीहरुले जिकिर गरेका छन् । रुस–युक्रेन युद्ध र त्यसले विश्वभर सिर्जना गरेको मन्दीका कारण तेस्रो देशका पर्यटक घटेका व्यवसायीहरुको भनाइ छ । अर्कोतर्फ, नेपाल भ्रमण गर्न चाहनेहरुलाई पनि सहज छैन । महंगो हवाइ भाडा तिर्नु एकातिर छँदैछ, सोझै नेपाल आउन पनि सास्ती नै छ । जसका कारण, नेपाल नै आउन चाहने पर्यटकले पनि अर्कोे गन्तव्य रोज्न विवश भएका व्यवसायीहरुको भनाइ छ । नेपाल आएर पनि कहाँ सजिलो छ र ? काठमाडौं–पोखरा र भैरहवा–पोखरा सडक खण्ड बिजोग छ । यसले विदेशी र नेपाली दुवैको यात्रा कठीन बनाइदिएको छ । मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको चिनियाँ ठेकेदारको काम असाध्यै सुस्त भएको छ । जसले गर्दा पर्यटकहरु पोखरा आउन हिच्किचाएका छन् ।अर्कोतर्फ,पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता नहुँदा पनि यहाँको पर्यटन उद्योगले गति लिन सकेको छैन । पोखरामा एयरपोर्ट त बनेको छ तर आन्तरिक उडानमै सीमित छ । कम्तिमा पोखराबाट छिमेकी भारत, चीन, बंगलादेश, भुटानसम्मको उडान भर्न सके त्यहाँबाट पर्यटक आउने वातावरण बन्थ्यो । यसतर्फ पहल भइरहेको बताइए पनि ठोस प्रगति हुन सकेको छैन ।
विश्वको आधा जनसंख्या छिमेकी भारत र चीनमा बस्छन् । त्यहाँको थोरैमात्र पर्यटक नेपाल आइदिने हो वा आउने वातवरण निर्माण गर्ने हो भने, नेपालको पर्यटन उद्योगले गति लिन्छ । तर, जे हुनुपर्ने हो, त्यतातिर कसैको ध्यान गएको छैन । पर्यटनलाई नेपालको अर्थतन्त्रको मुलखम्बा बनाउनुपर्छ । अहिलेसम्म पर्यटन उद्योगले कुल ग्राहस्थ उत्पादनमा खासै ठूलो योगदान नदिए पनि सेवा उद्योग नेपालको सवैभन्दा ठूलो सम्भावना भएको उद्योग हो । अहिले भएको लगानी जोगाउन र भविष्यमा पर्यटनबाट लाभ लिन अल्प र दीर्घकालीन रणनीति निर्माण गरिनुपर्छ । अहिलेसम्म नेपाल आउने पर्यटकहरु अरु कसैले भनेको सुनेर वा पटक–पटक आउनेहरु नै छन् । नयाँ पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रम गरिनैपर्छ । प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड यो विषयप्रति संवेदनशील बन्नैपर्छ । राज्य स्वयंले ध्यान दिएमात्र बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ । विदेशमा रहेका कुटनीतिक नियोगहरुले क्रियाशिलता देखाउनुपर्छ ।

