पोखरा/ मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे ।
‘कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं’, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने भनाई उनको छ । मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए ।
‘राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नुु ? भन्ने सोच पाल्नुभएन’ उनले भने । हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उनले बताए । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने भन्दै उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए ।
कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् । उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष देबराज शर्माले जानकारी गराए । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको भनाई उनको छ ।





