शारदीय पर्व दशैं दैलोमा आइसकेको छ । दशैं मान्न अधिकांश नागरिकहरु थातथलो पुगिसकेका छन् । केही जाँदै छन् । यो वर्ष आएको विनासकारी मनसुनले ठूलो जनधनको क्षति गरायो । बाटाघाटाहरु बिग्रन पुगे । त्यसको मार यात्रुमाथि प¥यो । तर, पारिवारिक जमघट, आफन्तजनहरु सँगको भेटले तनाव दूर गराउने छ । दशैंको शास्त्रीय महत्व छुट्टै छ । दैवी शक्तिले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको दिनको रुपमा यो पर्वलाई लिइन्छ । दशैंको अर्को विशेषता भनेको नारी शक्तिको उपासना पनि हो । नवरात्रीका नौ दिन शक्तिस्वरुपाको रुपमा देवीको पूजा गरिन्छ । नारीलाई सिर्जना र संरक्षणको द्योतक मानिनुले पनि यो पर्वको विशेष महत्व छ ।
नेपालीहरुको हकमा भने सवै जातजाति, वर्ग र समुदायले मनाउने साझा पर्व दशैं नै हो । यसो हुनुको पछाडि दुईवटा कारण छन् । एक त, दशैंलाई राज्यले नै विशेष रुपले मनाउँदै आएको छ । सबैभन्दा लामो सार्वजनिक बिदा अनि विभिन्न शक्तिपीठहरुमा राज्यबाटै पूजाआजा गरिँदा यो राज्यको पर्व बन्न पुगेको हो । बजार अर्थतन्त्रले पनि दशैंलाई सबैको पर्व बनाइदिएको छ । वर्षभर हुने किनमेलको ८० प्रतिशतभन्दा बढी हिस्सा दशैंको छेकोमै हुने गरेको छ ।
त्यसैले यो अप्रत्यक्ष रुपमा व्यवसायीहरुको चाड बन्न पुगेको हो । व्यवसायीकै चाड बनिदिँदा दशैंको शास्त्रीय महत्व गौण बन्दै गएको तथा मनाउने शैली भड्किलो भएको गुनासाहरु पनि सुनिन थालेका छन् । बितेका केही वर्षयता नेपालको सामाजिक व्यवस्था बदलिएको छ । गाउँ गाउँमा मोटरबाटो पुगेका छन् । त्यही मोटरबाटो हुँदै विदेशिनेको संख्या पनि ह्वात्तै बढेको छ । गाउँमा युवा देखिन छाडेका छन् ।
परदेशबाट दशैं मान्न आउने बरारबरकै नागरिकहरु एयरपोर्टबाट बाहिरिनु त छँदैछ, विदेशिएका ती नागरिकले पठाएको रेमिट्यान्सले गाउँहरुमा उपभोक्तावादी संस्कृति भित्रिएको छ । जसले गर्दा दशै ं भड्किलो बनेको छ । विकृति बढेको छ । यसलाई राम्रो मान्न सकिँदैन । आफन्तहरु भेटघाट हुने, ठूलाबाट आशिर्वाद थाप्ने अनि गच्छे अनुसारको मीठो–मसिनो खाने यो पर्वको मौलिकतासँग नेपालीपन जोडिएको छ । त्यो मौलिकताको संरक्षण हुनैपर्छ ।
अर्कोतर्फ, दशैंलाई भड्किलो बनाइँदा हुँदा खानेहरुलाई त्यसले कष्टबाहेक केही दिएको छैन । अतः दशैंलाई भड्किलो बनाउने हैन, आत्मियता बाँड्ने पर्वकै रुपमा मनाऔं । ढोरपाटन सञ्चार प्रा.लि.को तर्फबाट यहाँहरुलाई दशैंको हार्दिक शुभकामना !

