धौलागिरि हिमाल आरोहण गर्न आएका रसियन नागरिकहरु फर्कने क्रममा हिमालमा पुरिएर मृत्यु भयो । त्यसपछि सर्वत्र चर्चा भैरहेको छ । सोही समयमा नेपालीको सबैभन्दा ठूलो चाड दशै भित्रिएको थियो । अहिले त दशै बिदा हुने क्रममा छ । तर आफ्नै घर आँगनमा मृत्यु भएका बिदेशी पर्यटकको भने उद्दार समेत हुन सकेको छैन ।
बिशेषत हिमाल आरोहण गर्न आउनेहरुले नेपाल सरकरालाई कर तिर्छन् । कर तिर्ने कुरा मात्र नभइबिदेशी पाहुनाको सुरक्षा गर्ने काम राज्यको दायित्व पनि हो । तर ती बिदेशीको उद्दार समेतमा भएको ढीलाईले नेपाल र यहाँको पर्यटन व्यवसाय प्रति नै विश्वमा नकारात्मक धारणा गइरहेको छ । किनकी कुनै घटना भयो भने पनि तत्काल उद्दार हुन्छ, सुरक्षा छ भन्ने विश्वास दिन नसकेपछि आगामी दिनमा ती स्थानमा राज्यलाई राजश्व तिरेर हिमाल आरोहणमा आउनेहरु एक पटक सोचेर मात्र आउनेछन् ।
बिदेशी भूमीमा नेपालीको एकदुइ जना मात्र पनि मृत्यु हुँदा हामीले नै कति चासो राखिरहेका हुन्छौं । शव ल्याउने काममा राज्यले चासो राख्छ । ती पर्यटकलाईपनि कम्तिमा समयमै उद्दार गरेर एयरपोर्टमा ल्याउन सकेको भए उनीहरुका परिवारजनले तत्काल लैजान्थे । तर यहाँत कुनै चासो नै भएन । जसका कारण साता दिनदेखि बिदेशी पर्यटकको शव हिमालमै लडीरह्यो ।
नेपाल आँफैमा पर्यटकीय आर्कषणको केन्द्र हो । त्यसमा पनि साहसिक पर्यटन बढी संभाबनाको क्षेत्र हो । यहाँ जतिबेला पनि दुर्घटना भने हुन सक्छ । तर तत्काल उद्दार हुन्छ । सके बचाउन सकिन्छ, नसकेपनि समयमा उद्दार गरेर उनीहरुको शव परिवारलाई बुझाउन सकिन्छ भन्ने मान्यता हामीले दिन नसक्दा पर्यटन प्रवद्र्धनमा पनि ठूलो असर गरेको देखिन्छ ।
नेपाल भ्रमणकालागि हामीलेबर्षमा बढीमा १० लाख बिदेशी पर्यटक ल्याउने लक्ष्य राख्छौं । जवकी त्यति पर्यटक फ्रान्सको आइफल टावर हेर्न दैनिक पुग्छन् । हामीले पर्यटनको संभावना भएर पनि सामान्य वातावरण दिन सकेका छैनौं । हिजोको सशष्त्र द्वन्द्वको बेला शान्ति सुरक्षा छैन भन्ने अबस्था थियो । अहिले शान्तिप्रकृयामा देश अगाडि बढेपछि वातावरण बनेको छ भन्ने सन्देश गैरहेको बेला सामान्य दुर्घटनामापनि उद्दार गर्न सक्ने सन्देश पनि दिन नसक्नु लज्जास्पद भएको छ । यो अबस्थालाई नेपाल सरकारले गम्भिरता पूर्वक लिनै पर्छ । किनकी समयमा एउटा पर्यटकको समूहलाई उद्दार गर्न नसक्दा गएको नकारात्मक सन्देश सयौं समूहमा परिसकेको छ ।
रसियाबाटै साहसिक पर्यटकको हिसाबले अरु हिमाल चढ्न आउने देखि ढोरपाटन सिकार आरक्षममा सिकार गर्न आउने सम्मका पर्यटकलाई शान्तिसुरक्षा र दुर्घटनाबाट दिने सुरक्षाको ग्यारेन्टी गर्न जरुरी छ । यदि त्यसो नभएको खण्डमा भोलीका दिनमा पर्यटन प्रवद्र्धनमा अब्बल देश भनेर भन्नु बेकार हुनेछ । स्वदेशी पर्यटक या बिदेशी पर्यटकलाई घुम्नेसंस्कार दिन नसक्दा व्यवसाय डामाडोल हुने निश्चित छ । नेपालले उद्योग धन्दा खोलेर, रोजगारी दिएर बिकास गर्न सकेको छैन । रोजगारी भनेपनि आर्थिक उपार्जन भनेपनि पर्यटन प्रवद्र्दन मात्रै प्रमुख काम हो । त्यसमै हामीले पर्यटकलाई सुरक्षा दिन नसक्ने हो भने भोलीका दिनमा हाम्रो पर्यटन व्यवसाय पनि धरासायी बन्दा हामी कुन क्षेत्रको आस गरेर अर्थतन्त्रको सुरक्षा गर्ने ? यस्ता बिषयलाई पनि राज्यले गम्भिर रुपमा लिनुपर्ने देखिन्छ ।

