बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

७० बर्षमाथिका ज्येष्ठ वामपन्थीहरुको पोखरामा भयो पुनर्मिलन

७० बर्षमाथिका ज्येष्ठ वामपन्थीहरुको पोखरामा भयो पुनर्मिलन

उनीहरुले समाजवाद स्थापनाका लागि कम्युनिष्ट एकतामा दिए जोड


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

पोखरा / नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको हीरक वर्षको सन्दर्भको अवसरमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम शनिवार सकिएको छ । प्रदेशका वामपन्थी ज्येष्ठ नागरिकबिच अनुभव आदानप्रदान गर्न पहिलोपटक पुनर्मिलन कार्यक्रम आयोजना गरिएको बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका संयोजक कृष्णप्रसाद आचार्यले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वामपन्थी ज्येष्ठ नागरिकको सक्रियताले अहिलेको कम्युनिस्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सहयोग पुग्ने बताए । उनले नेपाली कांग्रेस एक पटक फुटेको उल्लेख गर्दै पटक पटक फुट्ने कम्युनिस्ट पार्टीलाई एकीकरणमा जोड दिन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

मेयर आचार्यले बामपन्थी ज्येष्ठ नागरिकको पुनर्मिलन कार्यक्रम नयाँ पुस्ताका लागि अनुकरणीय भएको बताउदै सहभागी सबैलाई पोखरा महानगरपालिकाको तर्फबाट खादा लगाएर स्वागत सम्मान समेत गरे ।

‘पञ्चायत कालमा बामपन्थी आन्दोलनमा लाग्न कठिन थियो,’ कार्यक्रम संयोजक आचार्यले भने, ‘स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुल्ला रुपमा संगठित हुँदै धेरै योद्धाले जेल नेल तथा कठोर यातना सहेर गरेको आन्दोलनले गणतन्त्र स्थापना भएको हो ।’ उनले अहिले उमेर र सक्रियताको दृष्टिले जीवनको उत्तरार्धमा पुगेका पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे ।

बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकी सहसंयोजक मोहन केसीले कार्यक्रममा सहभागी सबैको अनुभवलाई श्रव्य दृश्यका माध्यमबाट अभिलेखीकरण गरिने बताए ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका सचिव झलक सुवेदी, सदस्यहरु पुण्यप्रसाद पौडेल, रामराज रेग्मी, पूर्ण गिरी, बामपन्थी अगुवाहरु राधा ज्ञवाली, खेमनारायण ढुंगाना लगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा ज्येष्ठ कम्युनिस्टहरुले गरेको योगदानको बोलेका थिए । उनीहरुले समाजवाद स्थापनाका लागि कम्युनिष्ट एकतामा जोड दिए ।

कार्यक्रम संयोजक आचार्यले पञ्चायती शासन व्यवस्थालाई ढाल्न कम्युनिस्ट आन्दोलनमा होमिएका ज्येष्ठ नागरिकहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले गरेको कार्यक्रममा प्रदेशका सबै जिल्लाका जुनसुकै कम्युनिस्ट पार्टीमा रहेर या स्वतन्त्र रुपमा काम गरेका ज्येष्ठ नागरिक सहभागी भएको बताए । कार्यक्रममा ७० वर्ष उमेर पार गरेका (महिला र दलितको हकमा ६५ वर्ष) ज्येष्ठ नागरिकको सहभागिता रहेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, वागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर तथा पाँचथर र काठमाण्डौका आमन्त्रित गरी १२ जील्लाका १८० जना ज्येष्ठ वामपन्थीहरु सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी ९८ प्रतिशतले मञ्चमा उभिएर आफ्नो परिचय सहित मन्तव्य राखेका थिए । उनीहरुले दुइदिनसम्म हरेकको इतिहास, कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्यका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->