बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेंंगी र लापरबाही

डेंंगी र लापरबाही


  • Dhorpatan News
  • कार्तिक १३ २०८१, मंगलबार

कात्तिक महिनाको पनि आधाआधी भैसक्यो । तर डेंगीको प्रकोपमा कमी आएको छैन । हरेक दिन अस्पतालमा पुगेका बिरामी देखि घरघरमा औषधी खाएर बसेकाहरुमा डेंगीको समस्या छ । जाडो मौषम लागिसक्दापनि डेंगीको समस्या देखिंदा स्वास्थ्यकर्मी समेत अन्यौल भैरहेका छन् । बर्षात र पानी जम्ने बेलामा मात्र हुने रोग चिसो समयमा पनि देखिनु अझ तीब्र रुपमा फैलनुलाई स्वास्थ्यको दृष्टीले चुनौती मानिएको छ ।

तर यस्तो हुनुमा केही कारणहरु छन् । त्यस बारेमा बढी चिन्नत गर्नुपर्ने बेला आएको छ । किनकी डेंगी प्राकृतिक रुपमा लाग्ने रोग होइन । यो त जनचेतनाको अभाव हो । आम नागरिकको लापरबाहीको कारण पनि हो । झुल टाँगेर सुत्ने, सरसफाइ गर्ने, सफा पानी जम्न नदिने काम गर्नुपर्नेमा त्यसको बिपरित हामीले होटल, मोटर ग्यारेज र अन्य स्थानमा धेरै नै लापरबाही गरेका छौं ।

अहिले पनि बाहिर चिटिक्क पारेका होटलमा भित्र पुगियो भने ड्रममा खुला पानी देखिन्छ । महिनौ देखि पानी खुलैछ । बाहिरी आँखाले देख्ने गरी लार्भाहरु सलबलाएका छन् । ती लार्भा एकदुइ दिनमै लामखुट्टे बनेर बाहिर आउँछन् । सबैभन्दा पहिला त्यही घरका नागरिकलाई टोक्छ । बिरामी परिन्छ । बिरामीलाई टोकेको लामखुट्टे संक्रमित भएर जो सुकैलाई टोक्दा डेंगी हुन्छ । त्यो जानकारी नपाएको नागरिक अब नेपालमा कोही छैनन् । स्वास्थ्यकर्मीले त दिनदिनै भनेकैछन् । रेडियो एफएम, पत्रपत्रिका र टेलिभिजनले पनि दैनिक सूचना दिएका छन् । तर हामीले नै लापरबाही गरेका छौं । जसको कारण कात्तिकको मध्यभागमा आइपुग्दा पनि डेंगीको प्रकोप बढीरहेको छ ।

अघिल्ला बर्षको तुलनामा यो प्रकोप बढेको मात्र हैन, नसोचेको स्थानमा पनि फैलिएको छ । लामो समय सम्म पानी नफेर्दा पुजा कोठाको कलसबाटपनि लामखुट्टेको लार्भा उत्पादन भएर डेंगी सर्ने अबस्था आएको देखिन्छ । हरेक होटल र रेष्टुरेन्टमा पुग्दा गमलामा समेत पानी जमेको देखिन्छ । हात धुने पानी महिनौ देखि थापेर राखेको पाइन्छ । ती ड्रमहरु न कहिले सफा गरिएका छन्, न पानी फेरिएका छन्, बरु पुरानै पानीमा थप गर्दै लगिएको छ ।

चालुबर्ष बागलुङमा १ हजार ८८ जना संक्रमितको सरकारी ल्याबबाट डेंगी प्रमाणित भएको छ । नीजि क्लिनिक र ल्याबमा पुगेका तथा पोखरा र अन्यत्र गएकाहरुको तथ्यांक त्यो भन्दा धेरै छ । गलकोट, बुर्तिवाङ लगायतका सहर केन्द्रीत स्थानमा पनि यो समस्या बढीरहेको देखिन्छ । यसको अर्थ मानिसको जनघनत्व बढेकै स्थानमा यो प्रकोप छ । तर त्यही स्थानका मानिसले लापरबाही गरिरहेका छन् । आफ्नो घर सफा गरेर अर्काको बारीमा पानी जम्नेगरी टायर फाल्ने, पुराना र बिग्रेका भाँडाकुँडा फाल्दा पानी जम्ने अबस्था पनि छ । यी सबै मानवीय त्रुटीबाटै भएको देखिन्छ ।

यदी प्राकृतिक रुपमा हो भने अब पानी पर्न छाडेको छ । जथाभावी पानी जम्ने अबस्था छैन । मानव सिर्जित समस्या बढ्ने अबस्थालाई लापरबाहीकै संज्ञा दिनुपर्छ । अझैपनि सचेत हुने मौका छ । डेंगी सहज छैन, यसले मानिसको ज्यान समेत लिएको छ । त्यो भन्दा बढी कमजोरी बनाएको छ । त्यसको असर पछि सम्म पर्छ । मानिसको समयको बर्बादी, खर्च लगायतको समस्यालाई तुलनात्मक रुपमा हेर्नेहो भने डेंगीको प्रकोप अन्य महामारी भन्दा कम छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->