नेपालीहरुको मौलिक चाड तिहार आँगनमै आइपुगेको छ । दिदीबहिनीले दाजुभाईको दीर्घायूको कामना गर्ने तिहारकै छेकेको काग,कुकुर,गाई,गोरु र लक्ष्मी अनि यमराजसम्मको पूजा हुन्छ । देउसी र भैलो तिहारको अर्को विशेषता हो ।
दीपावली भारतमा पनि मनाइन्छ तर देउसी र भैलोसँग नित्तान्त नेपालीपन मिसिएको छ । जसले गर्दा तिहारलाई नेपालीहरुको मौलिक र रमाइलो चाड तुल्याइदिएको छ । शारदीय पर्वमा जसरी कागदेखि कुकुर र गाईगोरुको पूजा गरिन्छ, यसलाई चराचुरुङ्गी र प्राणिहरुको अस्तित्व स्वीकारेको रुपमा बुझ्दा पनि हुन्छ । संसारमा रहेका हरेक प्राणिहरुसँग मानिसको सम्बन्ध हुन्छ र हुनुपर्छ अनि उनीहरुको अस्तित्व रक्षा गर्नुपर्छ भन्ने कुरा तिहारले सिकाएको छ । अर्कोतर्फ,उज्यालोको पर्व पनि हो– तिहार । धनकी देवी लक्ष्मीको उपासना गरिने यो पर्वमा उज्यालोलाई पूजिन्छ । दीपको पूजा गर्नु भनेको उज्यालो अर्थात् खुसीको खोजी पनि हो । हरेक मान्छेले जीवनमा उज्यालोको खोज गर्नुपर्छ । उज्यालोलाई ज्ञान,खुसी वा समृद्धि जे भनेर अथ्र्याए पनि फरक पर्दैन । दाजुभाइ र दिदीबहिनीबीचको म्बन्धलाई झन प्रगाढ बनाउने यो तिहारलाई पर्यटन प्रवद्र्धनको पर्व बनाउने सम्भावना पनि उत्तिकै रहेको छ । तिहारमा पाक्ने सेलरोटीदेखि अन्य परिकारलाई आधार मान्ने हो भने खाना संस्कृतिसँग पनि यो जोडिएको छ । तिहारकै छेकोमा पर्ने नेपालीहरुको मौलिक नेपाल संवत् र मधेमा सूर्यको उपासना गर्दै मनाइने छठ पनि आफ्नैखाले महत्व छ ।
तर, यसो भनिरहँदा तिहारमा पनि विकृति मिसिँदै गएको छ÷ मिसाइएको छ । अनावश्यक खर्च र बढ्दै गएको तडकभडकले चाड खर्चिलो बनेको छ भने र गरीबको लागि दशा बनेको छ । पर्वहरु गरीब भएको अनुभूति गराउने र ऋण बोकाउने गरी विकसित हुनु राम्रो हैन । तिहारको मौलिकता भनेको दाजुभाइ र दिदीबहिनीबीचको आत्मियता प्रदर्शन र गच्छेअनुसारको भोजन नै हो । तडकभडकलाई निरुत्साहित गरिएन भने कालान्तरमा पर्वले मौलिकता गुमाउन सक्छ । आत्मियता साँट्ने पर्वको महिमा घट्न सक्छ । अत ः दशैंजस्तै तिहारको नाममा हुने अनावश्यक तडकभडक बन्द गरौं । करबलले हैन, तिहारलाई विशुद्ध मौलिक र पारिवारिक मिलनको पर्वको रुपमा मनाऔं ।सबैलाई तिहारको शुभकामना !

