रेमिट्यान्सले धानेको देश भनेर हामीले निकै गर्व गरिरहेका छौं । त्यतिमात्र होइन, बिदेशमा गएका युवाहरु बेला बेला फर्कने, निश्चित समय पछि सबै घर फर्केर उद्यम गर्ने चलन थियो । यसो गर्दा बिदेशमा सिकेको सीप नेपालमै लगाउने, श्रम र पसिना बगाउने गर्दा नेपालको उत्पादनमा पनि राम्रो प्रभाव परेको थियो । तर पछिल्लो समय त्यो डरलाग्दो गरी घटेको छ ।
बिदेशमा गएका युवाले रोजगारी गरेर रकम पठाउँदा रेमिट्यान्स आउने हो । पछिल्लो समय त बिदेशमा रोजगारी भन्दापनि पढ्ने निहुँमा जाने क्रम बढी छ । खाडी मुलुकमा जानेहरुले रेमिट्यान्स पाठउने गरेकोमा युरोप, अष्ट्रेलिया, अमेरिका जानेहरुले पैसा पठाउने कुरै भएन । जसको कारण रेमिट्यान्स त घटेको घटेकै छ नै, बरु त्यसको तुलनामा बिदेशमा पढ्न जाने गरी हिडेका युवाले खर्चेको रकम बढी छ ।
तथ्यांकहरु केलाउँने क्रममा नेपाल राष्ट्रबैकको प्रतिवेदनले पनि गएका दुइ महिना अर्थात साउन र भदौको तथ्यांक निकालेको छ । त्यो तथ्यांकमा मात्रै नेपालबाट २८ अर्ब रुपैयाँ बराबरको बिदेशी मुद्रा बाहिरिएको छ । जवकी योसमयमा २३ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको छ । अघिल्लो बर्ष सोही समयमा बैदेशिक अध्ययनको क्रममा जानेले २३ अर्ब खर्चेका थिए । गत साउनमा मात्रै युवाहरुले पढ्न गएको बेला १४ अर्ब रकम खर्चेका छन् ।
रेमिट्यान्स घटीरहने, बैदेशिक अध्ययनको रकम बढीरहने गर्दा अभिभावकले काढेको ऋण तिर्नपनि धौ धौ हुने अबस्था छ । ऋण तिरेर सक्दा सके ती बिद्यार्थीले अभिभावक उतै लैजान्छन्, कि नेपालको कमाइ उतै पठाउने गर्छन् । यसरी हेर्दा नेपालको आर्थिक स्थिति दिन दिनै कमजोर बन्दै गएको छ । यो तथ्यांकले अब नेपाल रेमिट्यान्सले धानेको देश भन्न मिल्ने अबस्था छैन । नेपालमै कुनै उद्यम गरिएन भने नेपालमा रकम आउने ठाउँ नै छैन । रेमिट्यान्स कमाइमा हरेक बर्ष २५ प्रतिशतले गिराबट अएको छ भने बैदेशिक अध्ययनमा खर्चेको रकम ३९ प्रतिशतले बढीरहेको छ ।
बिदेशमा पढ्न जानु राम्रो हो । नयाँ प्रविधि सिकेर आउने कुरालाई राम्रो मान्दामान्दै ती बिद्यार्थी फर्कने दर भने १० प्रतिशतपनि छैन । बिदेशमा जानेहरु सबैजना पढ्ने उद्देश्यले यतिधेरै रकम खर्चेर गएका हुन् त ? यो पनि प्रश्न चिन्ह लागेको अबस्था छ । जुन देशमा गएका छन् त्यहाँ काम गर्ने भिसा पाइएको छैन । पढ्ने निहुँले लुकेर काम गर्दा जोखिम बढी छ । कमाइगर्ने अबसर मिल्दा उतै बस्ने, जोखिम भए फर्कने अबस्था हुने गर्दा नेपालमा आयश्रोत कमजोर भैरहेको छ । राजश्व घटेको छ, उत्पादन घटेको छ । जसले दिर्घकालमा नेपालको अर्थतन्त्रलाई सिथिल बनाइरहेको स्पष्टै देख्न सकिन्छ ।
त्यसोत नेपालमा पनि बिदेशीहरु पढ्न आउने गरेका छन् । तर त्यो सामान्य छ । चालु आर्थिक बर्षको दुइ महिनाकै कुरा गर्दा नेपालमा अध्ययन गर्न आएका बिदेशीले भने जम्मा ४४ करोड ७३ लाख खर्चेका छन् । जुन नेपाली बिद्यार्थीले खर्चेको रकमको २ प्रतिशत भन्दा कम हो । यी तथ्यांक केलाउँदा नेपालको अर्थतन्त्र कति डरलाग्दो रुपमा ओरालो लागेको छ भन्ने स्पष्टै छ । अब राज्यले बनाउने नीति र कार्यक्रम त्यस तर्फ केन्द्रीत भएनन् भने देशको अबस्था के हुने भन्ने कुरा अनुमान लगाउन सकिन्छ । राज्यको नीति र कार्यक्रम अब त्यसतर्फ केन्द्रीत गर्नेकी ?

