बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजनीतिक दल, अनुशासन र विवेक

राजनीतिक दल, अनुशासन र विवेक


  • Dhorpatan News
  • कार्तिक २६ २०८१, सोमबार

निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु हुनु अस्वभाविक हैन । पार्टीका जिम्मेवार कार्यकर्ता पार्टी नीति नियमभन्दा बाहिर जाँदैनन र गए कारवाहीमा पर्छन् । एमालेले आफ्नो दलबाट प्रदेश सांसद र मन्त्री बनेका एक नेतालाई कारवाही गरेको छ भने अर्को पार्टी रास्वपाले आफ्ना अध्यक्ष पक्राउको विरुद्धमा कार्यकर्तालाई सडकमा उतारेको छ । नेपालका सबैजसो राजनीतिक दलहरुसँग कार्यकर्ताकै भरमा हतियार उठाउनेदेखि सत्तामा जनसेवासम्मका अभियान चलाएको अनुभव छ । राणा शाहीविरुद्ध लडेको पुरानो पार्टी नेपाली काँग्रेस, झापा विद्रोहको अनुभव बटुलेको एमाले तथा सशस्त्र विद्रोह गरेको एकिकृत माओवादीजस्ता प्रमुख पार्टीहरुले पार्टीभित्र अनुशासनको महत्व कति छ भन्ने नबुझ्ने कुरै भएन । नेपाली कांग्रेसभन्दा पनि वामपन्थी पार्टीहरु अनुशासनको मामलामा अझ कडा देखिएका छन् ।

पार्टी अनुशासन नमान्नेलाई ज्यान लिनेसम्मको कारवाही गरेको उदाहरण खोज्न टाढा जानु पर्दैन । भला, ज्यान लिनु आफैमा अपराध हो । पार्टीका कार्यकर्ता अनुशासनमा बाँधिएनन् भने अराजकता मात्र बढ्दैन, पार्टी तहसनहस हुन पुग्छ । पार्टी उदेश्यबाट विमुख हुनपुग्छ । यस मानेमा हरेक पार्टीले आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्नैपर्छ । देश र जनताप्रति जिम्मेवार बनाउनैपर्छ । जतिबेला पायो त्यतिबेला पार्टी कार्यकर्तालाई सडकमा उतार्ने,उत्तेजित बनाउने र गलत कार्यमा लगाउनुलाई किमार्थ राम्रो मान्न सकिँदैन ।

मानिस विचारमा स्वतन्त्र हुन्छ । स्वतन्त्रता भनेको स्वच्छन्दता हैन । आफ्नो विचार पार्टी भित्र वा जनतामाझ स्थापित गर्न व्यक्ति स्वतन्त्र हुन्छ । यसको लागि उसले दल परिवर्तन वा स्वतन्त्र बस्न पाउँछ । तर, कानून नै मान्दिन भन्ने अभिव्यक्ति कुनै पनि हालतमा क्षम्य हुँदैन । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई अनुशासनमा बाँध्ने कुनै कसर बाँकी राख्नु हुँदैन । आवश्यक परेको बेला परिचालित गर्नुपर्छ । सडक आन्दोलन नै सही,त्यसलाई मर्यादित बनाउने प्रयत्न गर्नुपर्छ । अराजकता सिर्जना गर्ने कर्म कुनै पनि पार्टीबाट हुन हुँदैन र कार्यकर्ता स्वयंले पनि के गलत, केही सही भन्ने छुट्याउने ल्याकत राख्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->