बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटनलाई संस्कृति बनाऔं

पर्यटनलाई संस्कृति बनाऔं


  • Dhorpatan News
  • मंसिर ४ २०८१, मंगलबार

मौषमले साथ दिएपछि यतिबेला सयौं मानिसहरु घुम्न निस्केका छन् । पर्यटन संस्कृतिले बागलुङको व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ । जसका कारण होटलहरु भरिभराउ छन् । दशैपछि बागलुङका होटलले खाली बस्नु परेको छैन । बागलुङ भएर मुक्तिनाथ तथा रुकुम हुँदै रारा ताल, शे फोक्सुण्डो, सुर्खेत स्रम्मको यात्रा गर्ने पर्यटक आउनेक्रम बढेको छ ।

नियमित घुम्न आउने पर्यटक सँगै महत्वपूर्ण भेला, सम्मेलनहरु प्नि बागलुङमा गर्न थालिएको छ । यसरी आएका पाहुनाको भीड बागलुङ कालीका मन्दिर, पञ्चकोट र लामो झोलुंगेपुलमा देख्न सकिन्छ । नियमित घुम्न आउने पर्यटकले पनि दैनिक होटलमा कोठा पाउन मुस्किल जस्तै भएको छ । भ्रमणको संस्कृति बढ्दा पर्यटक बढेको व्यवसायी पनि बताउँछन् । अझ गन्तव्यको रुपमा भन्दा ट्रान्जिटको रुपमा धेरै पर्यटक आएका छन् । मुक्तिनाथ र रारा ताल जाने पर्यटककालागि बागलुङ प्रमुख ट्रान्जिट बनेको छ । गन्तव्य नै बागलुङ बन्नेक्रम पनि बढेको छ । मध्यपहाडी लोकमार्गबाट पश्चिमकालागि बाटो खुलेपछि रुकुम, जाजरकोट, रारा ताल, शे फोक्सिण्डो र सुर्खेत सम्म जाने पर्यटकले बागलुङको बाटो रोज्न थालेका छन् । मध्यपहाडी लोकमार्गले कर्णालीका अधिकांस जिल्लाबासी बागलुङको बाटो पोखरा र काठमाण्डौं यात्रा गर्छन् ।

कालीगण्डकी करिडोर कालोपत्रे शुरु भएकोले पाल्पा, स्याङजा र बुटवलका पर्यटकले पनि बागलुङ हुँदै मुक्तिनाथ सम्मको यात्रा गर्न थालेका छन् । पश्चिमका मानिस पोखरा, काठमाण्डौ र चितवन सम्म घुम्न निस्कंदा र लुम्बिनीदेखि मुक्तिनाथ यात्रा गर्नेले पनि बागलुङलाई ट्रान्जिट बनाइरहेका छन् । जसका कारण अहिले आन्तरिक पर्यटकको घुईचो देखिन्छ । यो क्रमलाई हिउँद बर्षा निरन्तर बनाउने काम भने यहाँका व्यवसायीको हो । होटल राम्रो चल्दा ट्याक्सी, बस र जिपले पनि व्यवसाय पाउँछन् । किसानको तरकारी बिक्री हुन्छ भने अन्य व्यवसाय पनि फस्टाउँछ । तर यहाँ सामान्य प्रचारमापनि व्यवसायीले लगानी गरेका छैनन् । अब जिल्लाको भविष्य बचाउनपनि पर्यटनमा लगानी गर्न जरुरी छ ।

यसरी पर्यटक बढेपनि जिल्लामा अझै सुरक्षा व्यवस्था, आवस्यक पूर्वाधार, स्तरीय होटल र लज तथा पदमार्गहरु स्तरीय बन्न सकेका छैनन् । त्यसतर्फपनि अब व्यवसायी, स्थानीय सरकार र सरोकारवालाको चासो बढ्नु जरुरी छ । बागलुङ आएका पाहुनालाई मिठो खाना खुवाएर हुन्छ की, नयाँ गन्तव्यहरु घमाउन सकिन्छ की वा अन्य कुनै सहयोग गरेर पटक पटक आउने अबस्था सिर्जना गर्नुपर्छ । त्यतिमात्र हैन यहाँको कला र संस्कृति देखाउने, यहाँ उत्पादन भएका कृषि तथा घरेलु जन्य सामाग्रीहरु उत्पादन गरेर विक्री गर्ने, जिल्लाको पहिचान बढाउने गरी उत्पादनलाई जोड दिनुपर्छ । व्यवसाय भएन भनेर कराउने भन्दा काम गरेर आएका पर्यटकलाई बसाल्ने अबस्था हामीले सिर्जना गर्नुपर्छ ।
यतिबेला समूहमा पर्यटक आउने क्रम झनै बढी छ । बिद्यार्थी, आमा समूह र अन्य संस्थागत पर्यटकलाई पनि सके एक दिन बढी बसाल्ने योजना बनाउन जरुरी छ । साथै ती संस्थाले गराउने भ्रमणमा बागलुङ नियमिततामा पर्ने वातावरण बनाउन पनि व्यवसायीले गर्ने व्यवहार र उनीहरुको आतित्थ्यता नै प्रमुख आर्कषण हुन्छ । सदरमुकाम केन्द्रीत पर्यटकलाई गाउँ लैजाने प्रयास पनि आवस्यक छ । जे होस्, बढ्दो पर्यटन संस्कृतिलाई अब संस्थागत गर्न सबैको हातेमालो जरुरी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->