बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘भोटका लागि बस दियो, ऋण निकालेर हामीलाई फसायो’

‘भोटका लागि बस दियो, ऋण निकालेर हामीलाई फसायो’


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा/तनहुँमा आइतबार बस दुर्घटनामा चालकको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । बसका साहुका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाइरहेका छन् । तनहुँको ऋषिङ पाटन घर भइ हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारले चलाएको बस दुर्घटना हुँदा उनको मृत्यु भएपछि हालसम्म उनको शव अस्पतालबाट उठ्न सकिरहेको छैन् । मृतकका परिवारले बसका साहु हेमन्त मल्लले भोटका लागि आफूहरुको नाममा एउटा बस राखिदिएको र एनएमबी बैंकबाट ऋण लिइ नतिरेको कारण अहिले समस्यामा परेको भन्दै हारगुहार गरेका छन् । हेमन्तले पाँच वर्ष अघि रामबहादुरको नामबाट ऋण निकालेको र सो ऋण अहिलेसम्म नतिरेका कारण समस्या परेको मृतकका परिवारले बताएका छन् । उनीहरुले ऋण निकालेवापत् एक लाख रुपैयाँ दिने प्रलोभनमा पारी १४ लाख रुपैयाँ निकालेको आरोप समेत लगाएका छन् । मृतक चालक रामबहादुरकी श्रीमती रिता राना परियारले पृथ्वीराजमार्ग बस सञ्चालक समितिमा भोट गर्न बस भएको हुनुपर्ने भएकाले एउटा बस श्रीमानको नाममा गरेको र सोही बसबाट ऋण निकालेर लगेको बताइन् ।

सन् २०१९ जुलाई १६ मा एनएमबी बैं लिमिटेडले ग १ ख ८१४० नम्बरको बस धितोमा राखी रामबहादुर परियालाई १४ लाख रुपैयाँमा सेवा कटाएर सिआईसी चार्ज सहित १३ लाख ७८ हजार रुपैयाँ ऋण दिएको र सोही समय हेमन्त मल्लको नाममा १३ लाख ७३ हजार पाँच सय रुपैयाँ ट्रान्सफर गरिएको भेटिएको छ । सो समय रामबहादुरको नाममा ओम डेभलपमेन्ट बैंकमा ऋण रहेको थियो । ‘उहाँलाई पहिला भोटका लागि फकाइ–फकाइ गाडी पास गराउन लगाउनुभयो । भोट हालेको लगभग २०–२५ दिनमा फेरि साहुले फकाएर तेरो नाममा भएको गाडी लोनमा राखिदिन प¥यो भाइ तलार्इं निकालेवापत् एक लाख दिन्छु भनेर प्रलोभनमा पार्नुभयो,’ उनले भनिन्, ‘मैले हुँदैन पनि भने तर, मेरो श्रीमानले मान्नु भएन हाम्रो कुरा काट्नु हुन्थ्यो तर साहुको कुरा कहिल्यै काट्नु भएन । जति बेला बोलाए पनि जाने जे गर भने पनि गर्ने गर्नुहुन्थ्यो ।’ उनको भनाइलाई आधार मानेर हेर्दा बैंकबाट सोझै साहुकै नाममा रकम गएको देखिन्छ । ऋण निकालेपछि किस्ता नतिर्दा उनीहरु बैंकको कालो सूचीमा परे । उनी साक्षी बसेकै कारण बैंक खाता पनि रोक्का भएको छ । उनको माग ठूलो छैन् । कालो सूचीबाट आफुलाई हटाइ दिन र छोराको पढाइ खर्च व्यहोरिदिनुपर्ने मात्रै छ । साहु हेमन्तले रामबहादुरकै नाममा भएको बसलाई समेत धेरै व्यक्तिलाई बेचेको उनीहरु सुनाउँछन् । एक किस्ता पनि नतिरेकै कारण बैंकले कालो सूचीमा राखिदिएको हो । उनी एटीएमबाट पैसा निकाल्न जाँदा एटीएम ब्लक भएपछि बैंकमा जाँदा मात्रै कालो सूचीमा परेको कुरा थाहा पाएकी थिइन् । आफुले बैंकमा कुनै कारोबार नगरेको र साक्षी बसेकै कारण कालो सूचीमा परेको बैंकले जानकारी दिएको उनले सुनाइन् । ‘शुक्रबार बिहान काठमाडौंबाट उहाँ आउनुभयो । त्यो दिन उहाँको बस्ने पालो हो । जाने पालो होइन गाडी विग्रिएको छ बनाउनु छ । म जाँदिनसमेत भन्नु भएको थियो ।’ सोही दिन क्यु मा जानुपर्ने गाडी रिजर्वमा कतै गएको कारणले साहुको म्यानेजर र भाइले रामबहादुरकै घरमा खाना खाएर जानै पर्ने भनेर भनेको उनले सुनाइन् । ‘हेमन्त मल्लको म्यानेजर र भाइ मेरो घरमै गएको थियो मैले खाना पनि खुवाएँ । दाइ नपठाउनु अनिदो छ । एक झिमिक पनि सुत्न सकेको छैन । कसरी चलाउछ गाडी भनेर भनेँ,’ उनले सुनाइन्, ‘कतिचोटी म पनि हिँड्दा अनिँदोको कारण आँखा चिम्लिएरै पनि गाडी चलाउनुभएको छ । साहुको कुरा टार्नै सक्नुहुन्न । मैले हुँदैन भन्दा भाइले साहुलाई फोन गरेपछि उहाँ (श्रीमान) जान मान्नु भयो ।’ २०७६ साल साउन ३ गते ग १ ख ८१४० नम्बरको भाडा बस हेमन्त मल्लको नाममा ब्लु बुक कायम रहेको र अर्जुन चौधरीको नाममा बैनापत्र भएको मोडल २०१० को बस १४ लाख रुपैयाँमा बिक्री गरेको देखिन्छ । सो बस बिक्री गर्दा हेमन्तले तीन लाख रुपैयाँ नगदै लिएकोसमेत देखिन्छ । सो बस अर्जुन चौधरीले पुनः मनेश्वर सहनी किनबेच भएको देखिन्छ । २०७६ साउन ३ गते मृतक रामबहादुर परियार र अर्जुन चौधरीबीच किनबेच भएको देखिन्छ । सो समय रामबहादुरले आफ्नो नाम ऋणीमा उल्लेख रहेको र सो बस १४ लाख मा दिने गरि तीन लाई रुपैयाँ बैना गरेको देखिन्छ । सो रकम रामबहादुरलाई नभइ हेमन्तलाई पुगेको थियो । मंसिर २ गते आइतबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा बस दुर्घटना भएको थियो । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नं.को बस र काठमाडौंबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नं.को बस एकापसमा ठक्किएका थिए । दुर्घटनामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ३० जना घाइते भएका थिए ।

ममाथि आरोप लगाइयो : सवारीधनी
सवारी धनी हेमन्त मल्लले भने आफूमाथि आरोप लगाएको र उनीहरुले देखाएको प्रमाणको बारेमा बुझन बैंकमा जान लागेको बताए । आफूले गाडी सर्लाहीमा बेचेको सुनाउँदै उनले गाडी बेचेको पैसा आफुले लिएको बताए । ‘ममाथि आरोप मात्रै लगाइएको हो । सर्लाहीमा गाडी बेचेकै पैसा लिएको हुँ । उहाँहरुले के के गर्नुभयो भयो । लोन लिएको मैले होइन,’ उनले भने । त्यसपछि उनले फोन काटे । त्यसपछि फोन प्रयास गर्दा उनको फोन उठेन । उता पृृथ्वीराजमार्ग बस सञ्चालक समितिले भने समितिको नियम अनुसार दिनुपर्ने सम्पूर्ण सेवाहरु दिने भएको छ । हेमन्तले पनि सहयोग गर्ने तर, ऋणबारे आफूले केही गर्न नसक्ने बताएको परिवारले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->