पोखरा/माओवादीले गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ अधिकारी, स्याङजामा शैलेन्द्र घिमिरे, गोरखामा अमरबहादुर तमू, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र नवलपुरमा धनप्रसाद सापकोटालाई इन्चार्जको जिम्मेवारी सुम्पेको छ ।
म्याग्दीका रेशमबहादुर जुग्जाली मगर,बागलुङका धनबहादुर बिक,तनहुँका मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । मदन आले (तनहुँ०लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका बागलुङका खगेन्द्र छन्त्याललाई केन्द्रीय आयोगमा जिम्मवारी दिइएको छ ।
यो जिम्मेवारीले कास्की माओवादीमा भने भुइँचालो ल्याएको छ । सोमबार दिउसोतिर माओवादी निकट पत्रकार कोमलनाथ बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘५० वर्षको अवधिमा पनि एउटा नेता जन्माउन सकेन कास्कीले । धिक्कारौँ कि जस्तो लाग्यो, पदासिन नेताहरुलाई बधाई !’
उनको संकेत हालैको केन्द्रीय कमिटीको बैठकको निर्णयप्रति लक्षित थियो । माओवादी केन्द्रले आइतबार जारी गरेको सर्कुलर अनुसार कास्की इन्चार्जको पद गण्डकी प्रदेशका पूर्वसभामुखसमेत रहेका नेत्रनाथ अधिकारीलाई दिइएको छ । यसअघि कास्कीकै नेता रामजी बराल ‘जीवन’ लाई सो जिम्मेवारी दिइएको थियो । पार्टीले एकाएक रामजीलाई हटाएर अर्कै भूगोलका नेत्रनाथलाई जिम्मेवारी दिनुमा पार्टीभित्रको गुटकै करामत भएको माओवादी नेताहरु स्वीकार्छन् ।
एकाएक इन्चार्ज नै फेरिएपछि पुन ः कास्की माओवादीमा भुइँचालो गएको छ । इन्चार्जबाट हटाइएका रामजीलाई कुनै जिम्मेवारी दिइएको छैन । त्यसो त, लामो समय इन्चार्जको जिम्मेवारी सम्हालेका राजकाजी पनि जिम्मेवारीविहीन छन् । तर, बढी निराश चाहिँ रामजी नै देखिएका छन् ।
‘यसअघि मलाई कुनै जानकारी थिएन, एकाएक आइतबार पत्र आयो,’ उनले भने,‘ पार्टीले दिएको निर्देशन इमान्दार कार्यकर्ताको नाताले मान्नुपर्छ । मैले मानेको छु ।’ उनले त्यसो भने पनि, उनी निकट नेताहरु भने त्यो कुरा मान्न तयार छैनन् । पार्टीको यो निर्णयले कास्कीमा माओवादी अझ कमजोर हुने उनीहरुको जिकिर छ ।
खासमा लामो समय कास्की इन्चार्ज रहेका राजकाजी गुरुङ ‘करण’ले २०८० सालको चैततिर सो जिम्मेवारीबाट बिदा लिए । अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार हुन काठमाडौं गएपछि खाली रहेको सो जिम्मेवारी रामजीलाई दिइयो । माओवादी स्रोतका अनुसार त्यो बेला कास्कीका अर्का नेता दीपक कोइराला ‘रुपक’ पनि सो पदका आकांक्षी थिए । नेताहरुबीच आलोपालोको सहमति बन्यो । तर, बीचमा रामजीले पद छाड्ेनन् । दीपकले आफू नै इन्चार्ज भएको घोषणा गरे । उनलाई पार्टीका नेता जनार्दन शर्माको साथ थियो । पार्टीमा विवाद चुलिएपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पत्रमार्फत् रामजी नै इन्चार्ज भएको जानकारी गराए । यो असोजतिरको कुरा थियो । त्यसपछि पनि पार्टीभित्रको विवाद थामिएन । भुसको आगोजस्तो गुट–उपगुटको राजनीति चलिरह्यो । यसो हुनुमा जिल्ला बाहिर र भित्रको भन्ने भावनाले काम गरेको माओावादी नेताहरु नै स्वीकार्छन् ।
‘कास्कीमा लामो समयदेखि बाहिर र भित्रका भन्ने संघर्ष चलिरहेको छ । टकराव भएको विषय नै त्यही हो,’हाल माओवादी परित्याग गरेका एक नेताले भने, ‘आपसमा मिल्ने अवस्था पनि छैन । आ–आफ्नो चुल्हो बालेका छन् ।’





