बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाइड्रोजनको जथाभावी प्रयोग रोकियोस्

हाइड्रोजनको जथाभावी प्रयोग रोकियोस्


  • Dhorpatan News
  • फाल्गुन ५ २०८१, सोमबार

पोखरामा शनिबार अनपेक्षित दुर्घटना घट्यो । ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन कार्यक्रममा उडाउन लागिएको बेलुन आगोको लप्कासहित बिस्फोट हुँदा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भए । उनीहरुको अहिले काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । खतरामुक्त रहे पनि दुबैजना अहिले सघन उपचार कक्षमा नै छन् ।

बेलुनमा एकाएक आगो कसरी लाग्यो भन्ने विषय छानबिनको लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । तर, सामान्य आँखाले घटना हेर्दा पनि सो दुर्घटना हुनुमा आयोजकको गम्भीर लापरर्वाही छर्लङ्ग भएको छ । समारोहको उद्घाटन विद्युतीय बत्ति बालेर भएको थियो । स्वीच दबाएर भ्रमण वर्षको सुरुवात गरेपछि अर्थमन्त्री विष्णु पौडेलले सो विद्युतीय बत्ति बनाउने इन्जिनियरको प्रशंसा गरेका थिए । लगत्तै उनी बेलुन उडाउनको लागि निम्त्याइए । मन्त्री र मेयर आचार्यले एक–एकवटा बेलुनको झुप्पाको डोरी समाते । बेलुनकै छेउमा आगोको झिल्का निस्कँदै थियो । स्पार्किङ मेसिनबाट निस्केको झिल्काले हाइड्रोजन भरिएको बेलुनलाई ट्याप्पै टिप्यो । बेलुन आगोको लप्कासहित बिस्फोट भयो ।

बुढापाकाहरु आगो र पानीसँग पौंठेजोरी खोज्न हुँदैन भन्छन् । हो, आगो र पानीसँग छिल्लिनु हुँदैन । जतिबेला पनि दुर्घटना हुनसक्छ । तर, त्यत्रो तामझामका साथ आयोजित कार्यक्रमको व्यवस्थापन पक्षले त्यो तथ्यलाई बुझेन । प्रज्ज्वलनशील हाइड्रोजनलाई बेलुनमा भ¥यो भने त्यही बेलुनलाई आगोको झिल्का नजिक ल्याउने प्रबन्ध मिलायो । हाइड्रोजनको प्रकृति नबुझ्दा र विशिष्ठ व्यक्तिहरु उपस्थित ठूलो कार्यक्रमको सुरक्षा प्रबन्धबारे ध्यान नदिँदा यो घटना भएको घामजस्तै छर्लङ्ग छ । त्यसो त, त्यो कार्यक्रममा मात्र हैन, अन्य कार्यक्रममा पनि हाइड्रोजन भरिएको बेलुन उडाउने प्रचलन थियो । हाइड्रोजनको प्रयोगबारे प्रशासनले चासो राखेकै थिएन । व्यवसाय गर्नेहरुले जथाभावी प्रयोग गरिरहेका थिए । यो घटनाले भने बेलुनमा हाइड्रोजन प्रयोग निषेध गर्नुपर्ने तथ्य पेश गरेको छ । प्रशासनले यो विषयलाई गम्भीरताका साथ लिनुपर्छ । विशिष्ठ व्यक्तिसहितको सार्वजनिक कार्यक्रममा हुनसक्ने सम्भावित खतराप्रति हेलचेक्रयाइँ भएको पनि घटनाले पुष्टि गरेको छ । सार्वजनिक कार्यक्रमहरुको सुरक्षा संवेदनशिलतालाई फरक तरिकाले व्यवस्थापन गरिनुपर्छ । कसैले राम्रो देखाउनैका लागि गरिने कार्यहरुबाट हुनसक्ने परिणतिबारे पहिल्यै जानकारी लिनुपर्छ । घटना दुःखदायी छ । छानबिनको लागि समिति गठन भएको छ । समितिले तथ्य–सत्य बाहिर ल्याओस् । आइन्दा यस्ता दुर्घटना नहून् र हाइड्रोजन ग्यासको जथाभावि प्रयोग पनि बन्द होस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->