पोखरा/ पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहमा बेलुन पड्किएर जलनमा परेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य १२ दिनको उपचारपछि विहीबार पोखरा फर्किएका छन् । यही फागुन ३ गते पोखरा प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा आचार्यसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।
पोखरा फर्किएर प्रमुख आचार्यले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलज्यू र म दुर्घटनावश जलनका कारण किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत रहेको थियौं। केही दिनको अस्पताल बसाइपछि माननीय उपप्रधानमन्त्रीज्यू अस्पतालबाट डिस्चार्ज हुनुभयो भने मलाई थप केही दिन अस्पतालमा बस्नुपर्ने भयो’, आफ्नो फेसबुक वालमा आचार्यले लेखेका छन्, ‘यस कठिन समयमा मेरो स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद र हौसला प्रदान गर्ने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सम्माननीय सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीज्यूहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, माननीय उपप्रधानमन्त्रीज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू, संघीय तथा प्रदेश सांसदज्यूहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका व्यक्तित्वहरू, महानगर परिवार, स्थानीय प्रशासन, सुरक्षाकर्मी, मिडिया प्रतिनिधिहरू, पोखरेली जनसमुदाय तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण साथीहरू, शुभेच्छुक महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन तपाईंहरूको साथ, सहयोग, र सुझाव सधैं अपेक्षित रहने पनि उनले भनेका छन् । ‘यस कठिन घडीमा तपाईंहरूले प्रदान गर्नुभएको सद्भाव, मायालु सन्देश, र मनोबल अत्यन्त प्रेरणादायी रहेका छन्’, आचार्यले भनेका छन्, ‘आज १२ दिन लामो अस्पताल तथा आइसोलेसन बसाइपछि म पोखरा फर्कँदै छु र नियमित काममा फर्कने तयारी गर्दैछु। जलनका कारण हुनसक्ने साइड इफेक्ट तथा आवश्यक स्वास्थ्य सावधानी कडाईका साथ पालना गर्नुपर्ने भएकाले तपाईंहरू सबैको सहयोगको अपेक्षा गर्दछु।’ कम्तिमा ६ महिना घाममा प्रत्यक्ष सम्पर्क गर्न नमिल्ने, भिडभाडमा सकेसम्म नजाने, जानै पर्ने भएमा दूरी कायम राख्ने, हात नमिलाउने, किनभने छालाको क्यान्सरको जोखिम हुनसक्ने भएकाले तोकिएको स्वास्थ्य प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्ने, नियमित स्वास्थ परिक्षण गराउने, डाक्टरको सल्लाह नियमित रुपमा लिनु पर्ने स्वास्थ्य सावधानी अपनाउनु पर्ने पनि उनले बताएका छन ।





