सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पोखरामा पिएनसहित चार क्याम्पसमा स्ववियूको मतदान आज

पोखरामा पिएनसहित चार क्याम्पसमा स्ववियूको मतदान आज


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८१, सोमबार

पोखरा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान आज हुँदैछ । पोखरामा ६ क्याम्पसमा एकसाथ स्ववियु निर्वाचन हुने भनिए पनि जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापिठमा भने तालाबन्दीका कारण निर्वाचन नहुने भएको छ । जनप्रिय बहुमुखी क्याम्पसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि तीन विद्यार्थी संगठनले संयुक्त प्यानलसहितको उम्मेदवारी दर्ता गराउन माग राख्दै तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्ने र निर्वाचन समितिबीच वार्ता नमिल्दा मतदान नै स्थगित भएको छ ।
्रयमा अखिल क्रान्तिकारी, अखिल समाजवादी र अनेरास्ववियूले उम्मेदवारको दाबी विरोधको अन्तिम नामावली प्रकाशित पश्चात संयुक्त मोर्चामा जाने र सोही अनुसार दर्ता गराउन आएपछि निर्वाचन समितिले निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएपछि अस्वीकार गरेको थियो । त्यसपछि छफल नमिल्दा निर्वाचन समितिले राजीनामा दिएको थियो । निर्वाचन अधिकृत दीपलाल खनालले आफूसहित समितिका सदस्यले राजीनामा दिएको जानकारी दिए । उनले जनप्रियको निर्वाचन हाललाई स्थगित भएको सुनाए । ‘विद्यार्थी संगठनले ताला लगाएपछि कार्यतालिका अनुसार दुई दिनको कार्यतालिका प्रभावित भयो । छलफल गरियो तर वार्ता नमिलेपछि हामीले पनि राजीनामा दियौँ । त्यसपछि क्याम्पस प्रशासनले छलफलमा बोलाए पनि अहिलेसम्म वार्ता मिल्ने सकेको छैन,’ उनले भने, ‘उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि संयुक्त प्यानलको माग गरेर आउँदा त्यो सम्भव भएन । अहिले तालाबन्दी भएको छ ।’
उता, विन्ध्यवासिनीमा पनि स्वतन्त्र विद्यार्थीहरुले संघ÷ संगठन दर्ताको क्रममा हाललाई यो निर्वाचन ठीक नभएको भन्दै तालाबन्दी गरेपछि निर्वाचन रोकिएको छ । क्याम्पस प्रमुख प्राचार्य आनन्दमणि रिजालले निर्वाचन समितिको कार्यालयमा ताला लगाउँदा निर्वाचन आज नहुने सुनाए । ‘निर्वाचन समितिको कार्यालयमा ताला लगाइएको छ । हाललाई यो निर्वाचन ठीक छैन भनेर स्वतन्त्र विद्यार्थीहरुले ताला लगाए । यो माग ठीक छैन भन्दा ताला लगाइएको थियो,’ उनले भने । जनप्रिय र विन्ध्यवासिनीबोहक अन्य क्याम्पसहरु पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिजियरिङ, नर्सिङ, वन क्याम्पसमा मतदान हुनेछ । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि मतदान हुने स्थिति बनेको छ । सम्पूर्ण विद्यार्थी संगठन तथा स्वतन्त्र उम्मेदवारहरु स्ववियु निर्वाचन गरेर विद्यार्थीको नभई क्याम्पसको जित गराउने पक्षमा एक मत भएका छन् । हिजो झडप तथा अराजक अवस्थाले निर्वाचन नहुने गरे पनि यसपटक भने विचार र एजेन्डामा सीमित रहँदै क्याम्पसलाई जिताउने पक्षमा उनीहरु रहेका छन् ।
इन्जिनियरिङ क्याम्पसमा नेवि संघको विरोध
इन्जिनियरिङ क्याम्पसमा नेवि संघले आफ्नो सचिव कायम रहनुपर्ने माग राख्दै विरोध गरेको छ । उनीहरुले मतदानको अघिल्लो दिन आफ्नो सचिवको मनोनयन दर्ता गराउन माग गर्दै क्याम्पस अगाडि टायर बाल्दै विरोध गरेका हुन् । सचिवको मनोनयनविना स्ववियु निर्वाचन हुन लागेको भन्दै क्याम्पस प्रशासन, निर्वाचन समिति र नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको विरुद्धमा नाराबाजी गरेका छन् । उनीहरु तालाबन्दी गर्ने पक्षमा रहेका छन् । यद्यपि, मतदानको समय तालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढिरहेको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिए । नेवि संघभित्रको आन्तरिक द्वन्द्वकै कारण मतपत्र च्यातेका थिए । सचिव पदमा गरिएको मनोनयन पत्र नेवि संघकै विद्यार्थीहरुले निकालेर च्यातेपछि सचिव विनै मनोनयन भएको थियो । यद्यपि, मतदान भने हुने भएको छ । चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव गराउने प्रतिबद्धता जनाएका छन् त्यसमा नेवि संघको पनि सहमति रहेको छ । नेविसंघ इन्जिनियरिङ क्याम्पसका सभापति सौगात पण्डितसहित अनेरास्ववियु अध्यक्ष भुनव डाँगी, अखिल क्रान्तिकारी अध्यक्ष नविन श्रेष्ठ र स्वतन्त्र सभापति उम्मेदवार प्रकाश धामीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागि हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->