पोखरा/कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ । कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडीपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने जिकिर गरे । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत् पुनः प्रयोगमा आउने सामग्रीहरू निर्माण गरी त्यसलाई प्रदर्शनी र बिक्रीको लागि राखिने उनले बताए । यो अभियानले फोहोर व्यवस्थापनका साथै आर्थिक रूपमा सामुदायिक सशक्तीकरणमा टेवा पुग्ने उनको भनाइ छ ।
‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १ सय ३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ,’ उनले भने,‘यसले सामुदायिक स्तरमा रोजगारी सिर्जना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसरसमेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि हरित रोजगारी सृजना महत्वपूर्ण रहेको उनले बताए । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ,’ नगर प्रमुख आचार्य भने । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सिर्जना हुने उनको भनाइ छ ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन राजधानी पोखरामा रिसाकल र अपसाइकलमार्फत् हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले आशा जताए । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उनको भनाइ छ ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताए । उनका अनुसार यसले हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाइ प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण हुने बताए ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडीपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौंले पाएको छ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमासमेत यो स्थापित हुने विश्वास गरिएको छ । फोहोरमैलाको उचित व्यवस्थापनमार्फत् हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्वपूर्ण मानिन्छ ।





