पोखरा/ देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचनको मतपत्रमा त्रुटी भेटिएपछि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको हो ।
बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भएपनि अहिलेसम्म हुन सकेको छैन । निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका छन् । नयाँ मतपत्र छपाइ गर्न पठाइएको र त्यो आएपछि मतदान सुरु गरिने निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलले जनाएका छन् । मतदान छिटो सुरु गर्नुपर्ने माग राखेर क्याम्पस गेटमा विभिन्न विद्यार्थी संगठनले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
यसैबीच अखिल (छैठौ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग हुने चेतावनी दिएका छन् । अहिले मतपत्रमा आफ्नो संगठनको अध्यक्षको उमेद्वारलाई भोट गर्ने कोस्ट नराखिकन मतपत्र छापेकोले गर्दा गम्भीर ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ , ‘देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा विगत लामो समय देखि करिब १६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा हाम्रो सक्रिय संगठन उत्साहजनक रुपमा लागेको र उमेदवारी समेत दर्ता गरेको तर निर्वाचन आयोगका अध्यक्षको उमेदवारलाई निर्वाचन समितिको बैठकमा नै दलित समुदायलाई आँच पुग्ने अभिव्यक्ति दिएको र अहिले मतपत्रमा उक्त अध्यक्षको उमेद्वारलाई भोट गर्ने कोस्ट नराखिकन मतपत्र छापेकोले गर्दा हाम्रो संगठनको ध्यान आकर्षण भएको छ ।’
यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवार कमल सुवेदीले पनि विज्ञप्ति जारी गरी क्याम्पस प्रसाशनलाई यथाशीघ्र स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा तुरुन्त निर्वाचन गर्न अपिल गरेका छन् ।
इन्जिनियरिङमा अनसन
यसैगरी पोखराकै लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत चुनावी प्रक्रिया सहज रुपमा अगाडि बढेको छैन । क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीले मतदान गरे पनि बाहिरका विद्यार्थीलाई गेटबाट पस्न रोक लगाइएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन गरेका कारण विद्यार्थीहरु गेटभित्र पस्न पाएका छैनन् ।

नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस ९ डब्लुआरसी० पोखराको मूल गेटमै नेविसंघ नेता कृष्ण्जंग कार्की र राजिव अधिकारीले सोमबार बेलुकीबाट अनसन थालेका हुन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।





