पोखरा/ पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको मुख्य गेटमा नेविसंघले तालाबन्दी गरेपछि वैकल्पिक गेटमार्फत स्ववियू निर्वाचनमा मतदानका लागि विद्यार्थीलाई भित्र प्रवेश गराइएको छ । क्याम्पसको छात्राबासमा रहेका विद्यार्थीले भने बिहानै भोट हालेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पसको मुल गेटमा ताला लगाएर गेटमा अनसन बसेका छन् । नेविसंघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृष्ण्जंग कार्की र राजिव अधिकारीले सोमबार बेलुकीबाट अनसन थालेका हुन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएको हो । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुननसक्ने नेविसंघको अडान भए पनि प्रशासनले भने मतदान प्रक्रिया अगाडि बढाएको हो ।





