पोखरा/ देशकै ठूलो मध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन अन्तर्गत आजको मतदान कार्यक्रम स्थगीत भएको छ । मतपत्रमा त्रुटी भेटिएपछि उब्जेको विवादका कारण आज मतदान स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत प्र.डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने जनाएका छन् । ‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्ववियुको निर्वाचन आज मिति २०८१।१२।०५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ’ विज्ञप्तिमा भनिएको छ । सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरुको रायबमोजिम उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन विहान ८ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई अनुरोध पनि गरिएको छ ।
मतदान प्रक्रिया सुरु नगरेको भन्दै एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघसहित विद्यार्थी संगठन आन्दोलित भएका थिए ।





