हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिएको छ । क्षयरोग प्राचिन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग तथा संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र प्राचिन समयबाटै आजसम्म भएको पाइन्छ । अहिले पनि नेपालमा क्षयरोग जनस्वास्थ्य समस्याको रुपमा रहेको रोग हो ।
मेडिकल बिज्ञानलगायत उपचार पद्दतिको यो उचाइसम्म पुग्दा पनि विश्वको एकतिहाइ जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको तथ्यांकहरु पाइन्छ । जुन दुखद पक्ष हो । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्या क्षयरोगले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी ज्यान गुमाएको तथ्यांक छ । क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समुह अर्थात् १५ देखि ४९ बर्वा हुने गर्दछ । यसको उपचार सम्भव छ । क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा हटाउन सकिन्छ, त्यसका लागि सरोकारवालाको ध्यान र लगानी तथा प्रभावित बिरामीको जिम्मेबारी आवश्यक छ ।
लामो उपचार पद्धती भएकाले यो रोगबाट मुक्तिका लागि बिरामी आफैं जिम्मेबार बन्नुपर्छ । एक जनाले दशदेखि पन्ध्र जनालाई सार्न सक्ने भएकाले जोगिनु पर्छ । यसको संक्रमण दर, मृत्यु दर सबै पक्षलाई मध्यनजर गर्दै सन् २०५० सम्ममा शून्य क्षयरोगी बनाउने अभियानमा सबै सहभागी बनौं । देशभर रहेका रोगीको पहिचान उपचार र जीवनयापनमा सहयोग गरौं । राज्यका निकायले जाँच र उपचार प्रणाली चुस्त बनाओस् ।

