बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पीएनको निर्वाचनले दिएको सन्देश

पीएनको निर्वाचनले दिएको सन्देश


  • Dhorpatan News
  • चैत्र १३ २०८१, बुधबार

पोखराको पृथ्वीनारायण क्याम्पसले १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पाएको छ । एमालेको भातृ संगठन अखिलले आफ्नो दबदबा कायम राख्दा विष्णु पोखरेल १ हजार १ सय ५ मत ल्याएर विजयी बने । पीएनमा यो पटक असाध्यै शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भयो । विद्यार्थीहरु मारपीटमा उत्रिएनन् । उनीहरुको त्यो व्यवहारको जति प्रशंसा गरे पनि कम हुन्छ ।

तर, मतदान नै भएको कम सहभागिताले चाहिँ गम्भीर प्रश्न उब्जाएको छ । पीएनको स्ववियु निर्वाचनको लागि मतदाता रहेका ९ हजार २ सय ७० मध्ये २ हजार ८ सय ९७ जनाले मात्र मतदानमा सहभागिता जनाए । ३१ प्रतिशत विद्यार्थीमात्र मतदानमा सरिक हुनु र ठूलो विद्यार्थी खेमाले चुनावमा चासो नदिनुले के विद्यार्थीहरुको राजनीतिप्रति वितृष्णा बढेको हो ? के विद्यार्थीहरुले विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाउन हुन्न भन्ने बुझेका हुन् ? के उनीहरु आफ्नो अधिकारप्रति बेपर्वाह बनेका हुन् ? के मुलधारका राजनीतिक दलप्रति युवाहरुको विश्वास घटेको हो ? भन्नेजस्ता अनेकौं प्रश्नहरु उब्जिएका छन् । यी प्रश्नहरु सेरोफेरोमा अनेकौं तर्कहरु गरिएका छन् । आफू अनुकूलको व्याख्या पनि भएका छन् ।

तर, समग्रमा हेर्दा पछिल्लो समय युवाहरुमा राजनीतिप्रति बढ्दै गएको वितृष्णा चाहिँ मतदानमा भएको कम सहभागिताले पुष्टि गरेको छ । हिजोसम्म विद्यार्थीहरु राजनीतिक दलले अंगिकार गरेका विचारको संवाहक बन्थे । उनीहरुले लिने निर्णय अनुसार सडक र समुदायस्तरमा परिचालित हुन्थे । शिक्षित भएकाले उनीहरु विवेकसम्मत रुपले निर्णय गर्छन् भन्ने मान्यता पनि थियो । तर, ती सबै मान्यताहरु भत्केका छन् । यसो हुनुमा माउ पार्टी र ती पार्टीका भातृ संगठनका गतिविधिहरु दोषी छन् । विद्यार्थीको एजेण्डा नबोक्ने, नेताको चाकडी गर्ने र नेतामा पनि अमूक गुटको कार्यकर्ता बनेर हिँड्ने विद्यार्थी नेताहरुको जमात बढेको छ । उनीहरु वैचारिक बहस, विद्यार्थीको मुद्दा र हितभन्दा व्यक्ति केन्द्रित बनेका छन् । जसले गर्दा उनीहरुमाथि आम विद्यार्थीको भरोशा टुटेको जस्तो देखिएको छ ।

त्यस्तै विद्यार्थी अब विश्वविद्यालयमा राजनीति चाहँदैनन्, त्यसलाई प्राज्ञिक थलोकै रुपमा हेर्न चाहन्छन् भन्ने सन्देश पनि यो निर्वाचनले दिएको छ । रह्यो कुरा, मुलधारका राजनीतिक दलको, उनीहरुले चाहिँ यो मतदानमा भएको सहभागितालाई गम्भीर रुपमा लिनैपर्छ । माउ पार्टीका नेताहरुको निरन्तरको तयारी, घरदैलोले पनि विद्यार्थीहरु किन उत्साहित भएनन् भन्ने मनन गर्नासाथ के भएको हो भन्ने प्रष्ट हुन्छ । त्यति बुझ्नासाथ राजनीतिक कोर्ष परिवर्तनको बाटो आफैं खुल्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->