सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ समाजको रजत जयन्ती, वर्षैभर कार्यक्रम गरी मनाईदै

बागलुङ समाजको रजत जयन्ती, वर्षैभर कार्यक्रम गरी मनाईदै

पोखराबासी बागलुङेहरुबीच प्रेम, सद्भाव, आत्मियता, सहयोग र समन्वयको भावनामा सपर्पित


  • लालप्रसाद शर्मा
  • चैत्र ३० २०८१, शनिबार

बागलुङ समाज पोखरा आजदेखि स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा समाजले आज पोखरामा रजत जयन्ती समारोह एवं नयाँ वर्ष २०८२ को क्यालेन्डर (भित्ते पात्रो) विमोचनको कार्यक्रम आयोजना गरेको छ ।

नेपालभित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्लाको विभिन्न स्थानबाट पोखरा उपत्यकामा आइ विभिन्न पेशा व्यवसाय गरी स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका बागलुङबासीलाई एउटा समाजभित्र आबद्ध गर्ने उद्देश्यसाथ २०५७ मा समाज स्थापना गरिएको थियो । समाज कास्की जिल्ला प्रशासन कार्यालय कास्कीमा संघसंस्था दर्ता ऐन अनुसार दर्ता भएको एक गैरनाफामूलक सामाजिक संस्था हो । कुनै पनि धर्म, वर्ण, लिंग, जात, समुदाय, तथा रानीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी एकताको सुत्रमा आबद्ध गरी पारस्परिक रुपमा सामाजिक सद्भाव र सहयोग गर्दै विविध कार्यक्रमहरुको माध्ययमबाट सामाजिक, आर्थिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रमा योगदान पुराउने उद्देश्य समाजको रहेको छ ।

समाज स्थापनाको २५ वर्षसम्ममा आइपुग्दा हालसम्म ११ जना अध्यक्षले नेतृत्व गरिसकेका छन् । हाल यस समाजका ८१६ जना आजीवन सदस्य भइसकेका छन् । समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार कुलचन्द्र शर्माका अनुसार झन्डै १५ हजार बागलुङेहरु पोखरामा बसोबास गर्ने अनुमान गरिएको छ । समाजले ती सबैलाई समेट्ने प्रयास गरिरहेको छ । कतिपय समाजमा समेटिन खोजे पनि विभिन्न कारणले छुटेको उनले बताए ।

ठाउँ विशेषले टाढा भए पनि मानिस आफ्नो जन्मथलोको आत्मियता, आकर्षण र परिचयबाट टाढा हुन सक्दैन । जहाँ गए पनि जे भए पनि जन्मस्थान छोडेकाहरु जन्मथलोकै ठाउँले चिनिन्छन र आफ्नो त्यही परिचयलाई स्थापित गरी अस्तित्ववान हुन प्रयत्नशील रहन्छन । त्यसैकारण पोखराबासी बागलुङेहरुबीच प्रेम, सद्भाव, आत्मियता, सहयोग र समन्वयको भावना बिस्तार गरी जन्मस्थानसँग जोडिएको परिचय तथा अस्तित्वलाई सुदृढ बनाउने उद्देश्यसाथ समाज अघिबढेको अध्यक्ष ठाकुरप्रसाद सापकोटा बताउँछन् । ‘शनिबार (चैत ३०) मा एउटा औपचारिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउँछौँ,’ सापकोटाले भने, ‘२०८२ साल भरी अर्थात एक वर्षको अवधिमा विभिन्न अन्तरक्रिया र रचनात्मक कार्यक्रमको आयोजना गरी रजतजयन्ती मनाउनेछौँ ।’

पोखरामा बसोबास गर्ने बागलुङेबीच एकापसमा सहयोग गर्ने र आवश्यक परेको बेला जिल्लाबासीलाई पनि सहयोग गर्ने उद्देश्य राखेको समाजले अविछिन्न रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु वर्षेनी गर्दै आइरहेको छ । मुलुककै एकमात्र ढोरपाटन शिकार आरक्षलगायत समग्र बागलुङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हिसावले ‘जाऔं है ढोरपाटन’ अभियानलगायत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु समाजले संचालन गर्दै आएको छ ।

यसैगरी बागलुङ जिल्लाका विभिन्न स्थानमा आगलागीबाट पीडित, बाढीपहिरो पीडतलाई राहत सहयोग उपलब्ध गराएको छ । जिल्लाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विभिन्न समयमा स्मारिका प्रकाशन, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्दै आएको छ । तीजमा दर खुवाउनेदेखि रमाइलो वनभोज र भ्रमणका कार्यक्रम पनि समाजको नियमित काममा पर्छन् । ‘यस्ता कार्यक्रमले पोखरामा रहेका बागलुङेबीच एकापसमा सौहार्दता बढाएको छ,’ पूर्वअध्यक्ष शर्माले भने, ‘नियमितजस्तो कामलाई सबै कार्यसमितिले निरन्तरता दिदै आएको अवस्था छ । समय अनुसार अन्य अतिरिक्त रचनात्मक गतिविधि पनि समाजले गर्दै आएको छ ।’

समाजले स्वर्गीय प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कारबाट एसइई उत्तीर्ण समाजमा आवद्ध सदस्यका छोराछोरीमध्ये एक छात्र र एक छात्रालाई वर्षेनी सम्मान गर्दै आएको छ । पोखराका विभिन्न अस्पतालसंग सम्झौता गरी बागलुङबासीलाई उपचारमा छुटको व्यवस्था, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, ज्येष्ठ नागरिक सम्मान पनि समाजका कामभित्र पर्छन ।

बागलुङबाट निर्वाचित संघ र प्रदेशका सांसद, मन्त्रीलाई सम्मान, गाउँपालिका र नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, विभिन्न सरकारी उच्च ओहोदामा पुगेकालाई पनि सम्मानका कार्यक्रमलाई समाजले निरन्तरता दिँदै आएको छ ।

यसैगरी बागलुङबाट उपचारलगायत अन्य काममा पोखरा आएकाहरुमध्ये आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिरहेको छ । कोरोनाकालमा अस्पतालमा उपचाररतलाई आवश्यकतानुसार सहयोग र बागलुङ घरसम्म पु¥याउने काम पनि समाजले गरेको थियो । समाजले आफ्नो वेभसाइट बनाएको छ । बागलुङ समाज जापान, कोरियालगायतका समाजसँग भाइचाराको सम्बन्ध स्थापना गरेको छ । पोखरामा रहेका बागलुङकै अन्य स्थान विशेषका समाजसंग सम्बन्ध र समन्वयमा काम गरिरहेको छ ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, महान्यायधिवक्ता रमणकुमार श्रेष्ठलाई सम्मान गरेको समाजले बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था स्थापना गरी कारोवार संचालन गरिरहेको छ । भइरहेको छ । यस सहकारीमा हाल ३८० जना शेयर सदस्य छन् । बागलुङका प्रसिद्ध हनुमान नाच, गाइजात्रालगायत विभिन्न जातजातिका सस्कृतिहरु पोखरा ल्याएर प्रदर्शन गर्दै आएको छ ।

बागलुङको बिकासका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाउने काम पनि समाजले गर्दै आएको छ । अन्य जिल्लाका समाज (अन्तर समाज) सँग समन्वयको काम हँुदै आएको छ । समाजले गिनिज बुकमा विश्वकै सबैभन्दा होचो व्यक्तिको रुपमा नाम लेखाउन सफल स्वर्गीय खगेन्द्र थापामगरलाई पनि सम्मान गरेको थियो ।

७९ जना बागलुङेको भेलाले संस्था जन्मिएको हो : महेन्द्रप्रसाद शर्मा (संस्थापक अध्यक्ष)

बागलुङ समाज पोखराको स्थापनाको कुरा गर्नुपर्दा ३५ वर्ष पहिला जानुपर्छ । ३५ वर्ष पहिलेदेखि समाज जन्माउने प्रयत्न भएको हो तर विविध कारणले स्थापनाको साइत जुरेनछ । यो कुरा अवगत भएपछि म लगायत दीर्घ पाण्डे, बालकृष्ण उग्रतारा, अमृतलाल श्रेष्ठ, मुकुन्द पौडेल, दुर्गा आचार्यलगायतको विशेष पहलमा २०५६ साल साउन महिनाको ६ गते बागलुङमा जन्म भै पोखरामा कार्यरत बागलुङेहरुबीचको एकतालाई एउटै मालामा उन्ने र सुख दुःखमा साथ सहयोग आदान प्रदान कायम गर्ने उद्देश्यले वनभोजसहित पहिलो अधिवेशन आयोजना गरिएको थियो ।

त्यसमा करिब ७९ जना सहभागी थिए । त्यही बेला मेरो अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । संस्था स्थापना हुँदा मलगायत कार्यसमितिका सबै सदस्यमा खुसिको सीमान नै थिएन । स्थापनापछि समाजको आजीवन सदस्यता बिस्तार गरियो । उल्लेख्य संख्यामा आजीवन सदस्य बन्ने कार्य भयो । समाजको क्यालेन्डर प्रकाशन र हरेक वर्ष नै वनभोज आयोजना गर्ने काम मेरो कार्यकालबाट सुरु भएको थियो ।                                                                                                                                                         

पोखरा छाडेर म २०६१ साल असोजमा काठमाडौं आउँदा समाजको नाममा झन्डै पाँच लाख रुपैयाँ जम्मा भएको थियो । संस्था कुनै राजनीतिक विचारबाट प्रेरित नहोस् भन्नेमा हामी निकै सचेत थियाँै ।  त्यो भावनाको हालसम्म पनि साथीहरुले उच्च सम्मान गरेको मैले अनुभूति गरेको छु । अहिले समाजकै नाममा सहकारी संचालित भएको र त्यसले साथीहरुबीच अरु एकता बिस्तार गरेको सुनिरहेको छु ।

यसमा म साहै्र खुसी छु । रजत वर्ष मनाउँदै गर्दा आफुले जन्माएको संस्था भएकाले असाध्यै खुसी लागेको छ । समाजलाई यहाँसम्म ल्याउन निरन्तर क्रियाशिल रहने साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । अन्त्यमा समाजलाई यो स्थितिमा ल्याई पु¥याउनुहुने सबैप्रति आभार ब्यक्त गर्दै अबका दिनमा संस्थापक अध्यक्षले खेल्नुपर्ने भूमिकाका लागि सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउन चाहन्छु । (शर्मा हाल त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागको प्रमुखको रुपमा कार्यरत छन् । सं.)

बागलुङ समाज-पोखरा सुखदुखको साझा चौतारी हो: ठाकुरप्रसाद सापकोटा
अध्यक्ष, बागलुङ समाज पोखरा

बागलुङ समाज पोखरा स्थापना गर्नुको उद्देश्य के हो ?
–सुरु सुरुमा हामी बागलुङबाट पोखरा आएर बस्नेहरु निकै कम थियौ । हामीहरुको बसाई निकै पातलो थियो । बागलुङेहरु पोखरा झर्ने क्रम बढ्न थाल्यो । को कहाँ बस्छ, के गर्छ भन्ने कुनै जानकारी हुन सकेन । यस्तो अवस्थामा मर्दापर्दामा साथ सहयोग दिनसक्ने अवस्था भएन । अब यसरी हुदैन, पोखरामा रहेका बागलुङेहरु एकापसमा जुट्नुपर्छ, सुख र दुःखमा साथ दिनुपर्छ, भन्ने उद्देश्यले नै हाम्रा अग्रजहरुले २०५७ मा समाजको गठन गर्नुभएको हो ।

समाज स्थापनाको २५ वर्ष पुग्दा उद्देश्यअनुसार अघि बढेको छ त ?
–निश्चय नै हाम्रो समाज आजको यो दिनसम्म आइपुग्दा यसको उद्देश्य अनुसार नै अघि बढिरहेको छ । सुखदुखको साझा चौतारी बन्न सफल भएको छ । पोखरामा रहेका बागलुङेहरुले अपनत्व लिने गरी र आफ्ना उद्देश्य पुरा हुनेगरी सामाजिक गतिविधिमा क्रियाशील रहेको छ । समाजमा आवद्ध हुन् वा बागलुङमा रहेकाहरु, समाजले क्षमता अनुसार मल्हमपट्टी लगाउने काममा सक्रीय छ ।

पोखरामा रहेका बागलुङबासीलाई कसरी समेट्नु भएको छ ?
–समाजको सम्पर्कमा आउनु भएका बागलुङेहरुलाई समेटेका छौ । समेट्ने क्रम निरन्तर जारी छ । यसैले त अहिलेसम्म समाजमा ८ सय १६ जना आजीवन सदस्य पुग्नु भएको छ । यति मात्र होइन, बागलुङका विभिन्न ठाउँ विशेषका सम्पर्क समाज पनि पोखरामा रहेका छन् । त्यस्ता समाज ११ वटा छन् । ती समाजसंग पनि हामी निरन्तर जोडिइरहेका छौँ । हामी उहाँहरुको कार्यक्रममा जाने र उहाँहरु हाम्रो कार्यक्रममा जाने गरेका छौ ।

समाजको कुनै एउटा उल्लेख्य काम बताइदिनुस् न ।
–समाजले गरेको मध्ये एउटा उल्लेख्य काम भनेको बचत तथा ऋण सहकारी संस्था संचालन गर्नु हो । यसले पनि पोखरामा रहेका बागलुङेहरुलाई समेट्न सजिलो भएको छ । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारीमा हाल ३८९ जना शेयर सदस्य हुनुहुन्छ । सहकारी राम्रैसँग चलेको छ । कुनै समस्या छैन । समाजमा आवद्ध सदस्यहरुले बचत गर्ने, ऋण लिने काम गरिरहनु भएको छ । उहाँहरुको खाँचो टरेको छ । यसले सहकारीमात्र होइन, समाज र सदस्यहरुमा उर्जा थप्ने काम पनि गरेको छ ।

अन्त्यमा समाजका भावी कार्यक्रमबारे बताइदिनुस् न ?
– अहिले खासै ठूलो योजनामा हामी छैनौ । हुँदै र गर्दै आएका कामलाई निरन्तरता दिने काम भइहाल्यो । समाजलाई आर्थिक रुपमा सबल बनाउने, सामाजिक क्षेत्रमा अझ उदाहरणीय काम गर्ने र बागलुङ र पोखरालाई आर्थिक, धार्मिक, पर्यटकीय, संस्कृतिलगायत हिसावले जोड्ने काममा तल्लीन हुने छौँ ।

बागलुङ समाज पोखराका हालसम्मका अध्यक्षहरु:
२०५८–०६० महेन्द्रप्रसाद शर्मा
२०६०–०६२ अमृतलाल श्रेष्ठ
२०६२–०६४ अमृतलाल श्रेष्ठ
२०६४–०६६ प्राडा भवानीप्रसाद पाण्डे
२०६६–०६८ डा. भानु कँडेल
२०६८–०७० भीमबहादुर श्रीष
२०७०–०७२ प्राडा रबिन्द्रप्रसाद श्रेष्ठ
२०७२–०७४ जयबहादुर क्षेत्री
२०७४–०७६ कुलचन्द्र शर्मा
२०७६–०७८ सुनील पाण्डे
२०७८–०८० डिल्लीप्रसाद शर्मा
२०८० ठाकुरप्रसाद सापकोटा (वर्तमान अध्यक्ष)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->