बागलुङ/पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट निवासी प्रा. डा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित भएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापनाको चौथो वर्षको अवसरमा आयोजित समारोहमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रेग्मीलाई नगद ५० हजार रुपियाँसहित ताम्रपत्रले सम्मान गरेका हुन् ।
रेग्मीका सिर्जना, समालोचना र अनुसन्धानका दर्जन कृति प्रकाशित छन् । उनी पूर्वीय वाङ्मयका विशिष्ट विद्वान् र समकालीन पुस्तामा शास्त्रीय छन्दका प्रखर कवि हुन् ।
प्राध्यापनका साथै सिर्जना कर्म र अनुसन्धानलाई सँगसँगै अगाडि बढाइरहनुभएका रेग्मीले तीन दशकदेखि गरेको साहित्यिक र प्राज्ञिक योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो ।
सो समारोहमा प्राज्ञ मुकुन्दशरण उपाध्यायसहित अन्य स्रष्टालाई संस्कृति, कला लगायतका विभिन्न विधामा योगदान पुर्याएबापत सम्मान गरिएको थियो ।





