सहकार्यको बीउ रोपिएको थियो,
सन् १९२३ मा, विश्व सहकारी महासंघले
आर्थिक–सामाजिक परिवर्तनका लागि
एकजुटको सपना देख्यो ।
त्यसपछिका दशकहरूमा
सहकारी आन्दोलनले देश–देशको सिमाना काटेर
गरिबी, बेरोजगारी र असमानताको विरुद्ध
एक शक्तिशाली विकल्प बन्यो ।
अन्तर्राष्ट्रिय सहकारी दिवस
हरेक जुलाईको पहिलो शनिबार मनाइन्छ,
सन्देश दिन
‘हामी सँगै मिलेर समृद्धि सम्भव छ ।’
बिना नाफाको भावना, साझा स्वामित्व र
लोकतान्त्रिक निर्णय प्रणालीले
सहकारी संस्था केवल कारोबार होइन,
मानवता र न्यायको स्वर बनेको छ ।
नेपालमा पनि सहकारी शब्द
पञ्चायत कालदेखि घनिभूत हुँदै आएको छ,
लोकतन्त्रपछि त झन्,
सहकारी अभियानले गाउँ–गाउँ छोएको छ ।
कृषि, बचत, सिप, विपद् व्यवस्थापनदेखि
महिला सशक्तिकरणसम्म
सहकारीले विकासको मूलद्वार खोलेको छ ।
तर यथार्थमा चुनौतीहरू छन्,
केही सहकारीहरू राजनीति र स्वार्थको अखडा बने,
पारदर्शिताको अभाव, अनुगमनको कमजोरीले
संकटको संकेत पनि देखिन्छ ।
तर त्यसले सकारात्मक प्रयासहरूलाई छायामा पार्न सक्दैन ।
जुन ठाउँमा सहकारीले सद्भाव बोकेको छ,
त्यहाँ विश्वास फस्टाएको छ,
त्यहाँ समृद्धिको बीउ उम्रिएको छ ।
आजको दिन
सहकारीको भावनालाई बलियो बनाउने दिन हो,
व्यक्तिगतभन्दा साझा सोच बनाउने क्षण हो ।
सहकार्यको उज्यालो बाटो समाउँदै
समावेशी र समान समाज बनाउने
सजग प्रतिज्ञाको दिवस हो
अन्तर्राष्ट्रिय सहकारी दिवस ।
बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर





