बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुस्तकालय दिवस र पठन संस्कृति

पुस्तकालय दिवस र पठन संस्कृति


  • याम बहादुर थापा मगर
  • भाद्र १५ २०८२, आइतबार

पुस्तकको धुलोमा हराएको हाम्रो समय,
स्मार्टफोनको स्क्रीनमा झिलीमिली,
तर, शब्दको गहिराइमा डुब्ने सौन्दर्य बिर्सिंदैछौँ हामी ।
एकपटक सम्झ, भदौको पन्ध्र त्यो दिन
‘सबैका लागि पुस्तकालय’ भन्ने स्वरले
गाउँ र शहर भरिएको क्षण,
जहाँ बालबालिकाले पुस्तकको पाना पल्टाउँथे,
र युवाहरूले सपनाको नयाँ संसार खोज्थे ।

आज, पठन संस्कृतिको ज्योति मन्द भएको छ,
तर ज्योति निभेको होइन ।
सिर्फ ओत लाग्ने नयाँ दियो चाहिएको हो ।
जेनजीको छातीमा नयाँ ज्वाला बाल्ने समय आएको छ ।
जहाँ उनीहरूले डिजिटल माध्यम र पुस्तकलाई शत्रु होइन,
साथीको रूपमा हेर्न सकून्,
जहाँ पुस्तकहरू टिकटकको छोटो क्लिप जस्तै आकर्षक लागून्,
र, ज्ञानको गहिराइसँग उनको जिज्ञासुपन जोडियोस् ।
पुस्तकालय दिवसका नाराहरू आज पनि प्रतिध्वनित हुन्छन्
‘पढ्ने बानी बसालौँ,’ पठन संस्कृति विकास गरे ।
‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय,’
‘पुस्तौं पुस्ताका लागि पुस्तकालय ।’
यी नाराहरू केवल अक्षर मात्र होइनन्,
यी हाम्रो भविष्यको बाटो देखाउने नक्सा हुन् ।
हामी फेरि पुस्तकमुखी पिंढी निर्माण गर्न सक्छौं ।
यदि हरेक आँगनमा एक सानो पुस्तकालय जन्माइयो भने,
यदि विद्यालयहरूले पढाइलाई परीक्षा मात्र होइन,
उत्सुकताको यात्रा बनाइदिए भने,
र, अभिभावकहरूले कथा सुनाउने
संस्कारलाई पुनः जोगाइदिए भने ।

आउनुहोस्,
पुस्तकलाई फेरि मित्र बनाऔँ,
पढ्ने संस्कृतिलाई प्रवृत्ति बनाऔँ ।
जसरी सेल्फी खिचिन्छ,
जसरी रील बनाइन्छ,
त्यसरी नै पुस्तकसँग बिताएको क्षणलाई गर्व साथ बाँडौं ।

किनकि पठन भनेको केवल अक्षर पढ्नु होइन,
यो चेतनाको विस्तार हो,
यो स्वतन्त्रताको स्वाद हो,
यो पुस्तौं पुस्तालाई बाँध्ने अदृश्य डोरी हो ।

पुस्तकालयको ढोका अझै खुला छ ।
अब आवश्यकता हाम्रो कदम चापको मात्र हो ।
आउनुहोस्, नयाँ पुस्तालाई लिएर भित्र पसौं,
र उज्यालो भविष्यको अध्याय सँगै लेख्न थालौं ।

बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->