रेडक्रस – एउटा नाम मात्र होइन,
मानवताको रक्तधारा बगाउने प्रतिज्ञा हो ।
युद्धको धुवाँले आकाश छोपिँदा,
घाइते शरीरका पीडा चिच्याउँदा
यो जन्मिएको थियो
एउटा ध्वजासँग,
रगतको रङ र शान्तिको संकेत बोकेर ।
इतिहासका पानामा लेखिएको छ,
रेडक्रसले संसारलाई सिकायो ।
सीमाना भन्दा ठूलो हुन्छ जीवन,
रङ, धर्म र राजनीति भन्दा ठूलो हुन्छ पीडा,
र त्यसलाई मल्हम लगाउने हात नै
सबैभन्दा पवित्र हुन्छ ।
अन्तर्राष्ट्रिय सहयोगका ती अभियान,
भूकम्पमा ढलेका घरहरूमा,
बाढीले बगाएका खेतहरूमा,
महामारीले थला पारेका अस्पतालहरूमा
यो संस्थाको उपस्थितीले
मानवताको धड्कन सुनाइरहेको हुन्छ ।
नेपालमा पनि,
पहाडका टाकुरादेखि तराईका खेतसम्म
गाउँ गाउँमा फैलिएको छ रेडक्रसको स्वर ।
रगतदान शिविरको मुस्कान हो,
पहिलो उपचारको भरोसा हो,
विपदमा पुगेको पहिलो टिम हो ।
तर इतिहासले प्रश्न गर्छ
के यसको नेतृत्व मात्र
राजनीतिक भागवण्डाको तराजुमा तौलिनुपर्ने हो ?
के सिद्धान्त भन्दा ठूलो पार्टीगत स्वार्थ हुनुपर्ने हो ?
रेडक्रसको झण्डा
निर्लिप्तताको प्रतीक हो,
तर कहिलेकाहीँ त्यो पनि
राजनीतिक रंगले छोपिन्छ ।
रेडक्रसका सात सिद्धान्तहरू
मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता,
स्वेच्छा सेवा, एकता र विश्वव्यापिता
यी नै हुन् आत्माको दीपक ।
यदि यी हराए भने
रेडक्रस केवल नाम मात्र हुनेछ ।
आजको रेडक्रस दिवसमा
रेडक्रसको सन्देशबारे समिक्षा गरौं
विगतले दिएको बलिदान सम्झौं,
वर्तमानका चुनौतीहरू स्वीकारौं,
भविष्यतर्फ निस्कौं ।
जहाँ रेडक्रस रहोस्,
त्यहाँ राजनीति होइन,
मानवताको रगत बगिरहोस् ।





