पोखरा/विद्यार्थीमा पठन तथा लेखन शैलीमा क्षमता अभिवृद्धि गर्नका लागि पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आइबारदेखि दुईदिने साहित्य महोत्सव सुरु भएको छ । दुईदिनको महोत्सवमा पठन तथा देखन शैलीसँगै साहित्यिक बहस संचालन गरिने विद्यालयले बताएको छ ।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार विद्यार्थीमा पाठ्यपुस्तकसँगै अरु विधाका पुस्तक पढ्न प्रेरित गर्ने तथा रचनात्मक र सिर्जनात्मक लेखनशैलीको विकास गर्न साहित्य महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार पहिलो दिन आइतबार आन्तरिक रुपमा विद्यार्थीहरुले पठन तथा लेखनशैलीबारे छलफल गरेका थिए ।
महोत्सवको पहिलो दिन विद्यार्थीहरुबीच सिर्जनात्मक लेखन, पुस्कसँगैको वृत्तिविकास, प्रविधिले पारेको प्रभाव लगायतबारे छलफल गरेका थिए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार सोमबार पोखराका साहित्यकारलाई भेला गराएर विद्यार्थीसँग साहित्यिक बहस संचालन गरिनेछ ।
पोखराका साहित्यकारहरु तीर्थ श्रेष्ठ, सरुभक्त लगायतका साहित्यकारलाई बोलाएर साहित्यिक बहस सोमबार संचालन हुने उनले बताए ।
विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीमा पठन शैलीको खाँचो रहेको बताए ।
महोत्सव संयोजक बामनप्रसाद घिमिरेका अनुसार विद्यार्थीमा व्यावसायिकताको सोच वृद्धि गराउन यही महोत्सव दौरान सोमबार व्यवासायिक छलफल पनि गराइनेछ ।
आइतबारको पहिलो दिनको सेसनमा विद्यार्थीले कथा र कविता सुनाउने मात्र नभई चित्रकलासँगै पठनपाठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल गरेका थिए । चित्रकलामा पोख्त छात्रा श्रेया तामाङसँग छात्र प्रज्वल भण्डारी गफिएका थिए ।





