पोखरा/पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन । उद्यमशील बन्न निकै नै मिहिनेत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता उक्त अवसरमा विद्यार्थीमाझ बाँढिन ।
त्यसबाहेक पठनशैली र पुस्तक तथा लेखनबारे पोखराका अगुवा साहित्यकारद्वय तीर्थ श्रेष्ठ र सरुभक्तले पनि विद्यार्थीसँग अनुभव साँटासाँट गरे । विद्यालयले विद्यार्थीमा पठन र लेखनशैलीको विकास गर्नका लागि दोश्रो संस्करणको रुपमा यो पटक पनि साहित्य मेला आयोजना गरेको थियो । साहित्यकारद्वय श्रेष्ठ र सरुभक्तसँग तथा व्यावसायी बिञ्जुलसँग विद्यार्थीले साहित्य र व्यावसायिक बहस गरेका थिए ।
विद्यार्थीसँग व्यावसायिक कठिनाई र सफलताको कथा सुनाउँदै मामुछोरीकी संचालक श्रेष्ठले व्यावसायमा सफलता हात पार्न निकै नै मिहिनेत गरेको बताइन् । कोभिडको बेला आम्दानीको श्रोत कमजोर भएपनि लिटो बनाएर व्यवसाय थालेको उनले उक्त अवसरमा विद्यार्थीलाई जानकारी दिएकी थिइन ।
उनकै भनाइमा जागिरताका बचेखुचेको केही रकम पनि कोभिडताका सकिएपछि आर्थिक अवस्था शून्यमा झरिसकेको थियो । त्यहीबेला के र कसो गर्ने भनेर सोचिरहँदा उनले एकदिन छोरीलाई खुवाएको लिटोबारे सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरिन् ।
छोरीलाई खुवाएको घरेलु लिटोबारे केही चिनजानका महिलाले टिकटकबाटै थाहा पाए । त्यसपछि बिञ्जुललाई उनकै छोरीले खाएजस्तै लिटो बनाईदिन ती महिलाहरुले आग्रह गरे । घरकै भान्साबाट उनले सामान्य मिक्सरमा पिनेर उनले लिटो बनाइदिइन । उनले बनाइदिएको लिटो ती महिला र उनका बच्चाले निकै नै रुचाए । त्यो कुरा पनि सामाजिक सञ्जालमै साझा गरियो ।
बिञ्जुलले पनि लिटो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्न थालिन । दिनदिनै लिटोका लागि नयाँनयाँ ठाउँबाट अर्डर आउन थाल्यो । लकडाउनको त्यो अवस्थामा उनको ब्यापारले गति लिँदै गयो । व्यापारको त्यो गति यति तिब्र थियो की बुढाबुढीले मात्र व्यापार धान्न नसक्ने अवस्था भएपछि उनले सहयोगी कर्मचारी राख्न थालिन ।
यो अवधिमा उनले १९ जनालाई रोजगार दिन सक्षम भएकी छन् । उनको ‘मामु छोरी’ ब्राण्डको लिटोले धेरै बालबालिकाको पेट भरिएको छ । मासवारस्थित मदरल्याण्ड माविमा आयोजित साहित्य मेलामा विद्यार्थी अपिल बरालसँग अनुभव साट्दै बिञ्जुलले भनिन, ‘व्यावसाय गर्न धेरै रकम नचाहिने रहेछ । मेहनत भने गर्नुपर्ने रहेछ । हुन त उद्यमशिल बन्न सहज छैन । तर, उद्यमशिल बन्ने रहर जाग्दा थाक्नु भने हुँदैन ।’
बिञ्जुलसँग अहिले ५ हजार भन्दा बढी सन्तुष्ट ग्राहक छन । जसले नियमित रुपमा मामुछोरी ब्राण्डको लिटो सहितको खानेकुरा उपभोग गर्छन । पोखराबाट सुरु भएको व्यावसाय पाँचवर्षभित्र नेपालभरि फैलिएको छ । अहिले लिटो मात्र नभई अरु व्यावसायमा पनि उनले फड्को मार्न सकेकि छिन ।
बिञ्जुल भन्छिन, ‘म पढाईको हिसाबले नर्स हुँ । लिटो व्यावसाय सुरु गरेपछि पनि एकपटक बिदेश जाने सोच पलाएर प्रयास पनि गर े। तर, त्यसमा असफल भए । सायद यही सफलता हात पार्नका लागि त्यो असफलता पाएकी रहेछ ु। भान्सामा प्रयोग भईरहेको मिक्सरबाट सुरु गरेको व्यावसायले अहिले निकै नै आकार बढाएको छ । त्यसैको परिणामस्वरुप अहिले उनले उद्योग नै खोलिसकेकि छिन ।
व्यावसायको यो अवधिमा उनले चूनौती नखेपेकी होईनन । तर, कामप्रतिको लगावले उनलाई कहिल्यै पछाडि फर्किन पारेन, बरु अगाडि मात्र सर्दै गईन । ‘मैले हरेक पाइलामा आइपरेका चूनौतीसँग हार मानिन । त्यसले गर्दा सफल भएकी हुँ । खुट्टा नतान्ने नभएका होइनन् तर ती अप्ठेरा पार लगाउँदै यहाँसम्म आएकी छु,’ उनले भनिन, ‘लगानीको लागि ठूलो आकारको रकम पर्खदै गएको भए अहिले यो अवस्था आउने थिएन । यत्तिको सफलता हात पार्न सानो आँटले होइन ।’
विद्यार्थीमा व्यावसायिकताको भावना विकास गराउन र व्यवासाय थाल्दाका अप्ठेरा र सहजताबारे अनुभव सुनाउनका लागि विद्यालयले व्यवासायमा संघर्ष गरेकी बिञ्जुललाई ल्याएको विद्यालयका प्राचार्य डा. नारायण बरालले बताए ।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले साहित्यकारद्वय श्रेष्ठ र सरुभक्तसँगको बहस र छलफलले विद्यार्थीमा साहित्यप्रतिको चाँसो जागेको बताए ।





