शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फर्किदै किवीको हरियाली

फर्किदै किवीको हरियाली


  • याम बहादुर थापा मगर
  • पुष २३ २०८२, बुधबार

पहाडी गाउँका डिलडिलमा,
पहिले झार र कोदो मात्र फल्ने बारीमा,
अब हरियो किवीको बिरुवा सिँन्चिदै थिए ।
हातमा छेउको माटो, मुटुमा परिश्रमको भरोसा ।

अनुदानले ल्याएको बिरुवा,
आफ्नै पसिनाले सिँचेका सपना,
बारीभरि लटरम्म फल्ने किवीको आशा ।
गाउँले फेरि हरियाली ओढ्दै थियो ।
जसरी सुक्खा मनमा पानी परेपछि फूल फुल्छ ।

तर,
फूल फुल्न नपाउँदै मानिसहरू उड्न थाले ।
विदेशका बाटाहरूमा, शहरका गल्लीहरूमा,
कसैले पढ्न भनेर, कसैले कमाउन भनेर ।
गाउँका गोठ र बारीहरू
फेरि बुढाबुढीको मौन साक्षी बने ।

झारपातले किवी बेर्न थाल्यो,
रोगले विरुवा थकायो,
आशाले मुटु पोल्यो ।
तर त्यो माटो अझै मरेको छैन ।
माटोले माया मागेको छ,
फेरि हातले छोइदिनु,
फेरि पसिनाले नुहाइदिन मात्र बाँकी छ ।
गाउँ अझै बोलिरहेको छ ।
म फर्केर आउँ,
मलाई फेरि हरियाली बनाउन देऊ ।

किवीको बोटहरू कुर्लिरहेका छन् ।
म मा अझै फल्ने शक्ति छ,
यदि तिमीहरूमा फर्कने हिम्मत छ ।

शहरका गफले पेट त भरिन्छ,
तर आत्मा त गाउँ कै हावाले तृप्त हुन्छ ।

त्यसैले,
अब फिर्ता होऔँ ।
पसिनाको सुगन्ध बोकेर,
माटो र मन दुबै हरियो बनाऔँ ।
किवीको झुप्पाहरू
फेरि गाउँका डिलमा झुन्डिएर
भन्न सकुँ मैले
देशको शक्ति माटोमै छ ।

बागलुङ नगरपालिका–१० भकूण्डे, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->